आजः बिहिबार, जेष्ठ ५, २०७९

संसद् विघटनको मुद्दामा राय दिन एमिकस क्युरीमा सर्वोच्च बारबाट घिमिरे र केसी सिफारिस

काठमाडौं -संसद् विघटनविरुद्धको मुद्दामा राय दिन सर्वोच्च अदालत बार एसोसिएसनले दुई जना वरिष्ठ अधिवक्तालाई सिफारिस गरेको छ।
सर्वोच्च बारले वरिष्ठ अधिवक्ताहरू कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा सिफारिस गरेको हो। मंगलबार बसेको सर्वोच्च बारको बैठकले उनीहरूलाई एमिकस क्युरीमा पठाउन सिफारिस गरेको विज्ञप्तिमार्फत जनाईएको छ।
यसअघि सर्वोच्च अदालतले एमिकस क्युरीका रुपमा सर्वोच्च बार र नेपाल बार एसोसिएसनका तर्फबाट दुई दुई जना मगाउने निर्णय गरेको थियो। नेपाल बारले भने नाम सिफारिस गरेको छैन।
प्रतिनिधि सभा विघटनको मुद्दामा एमिकस क्युरीका सदस्यहरूले बहस गर्न पाउने छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते गरेको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ।
यही मुद्दामा सुनुवाइ गर्दै संवैधानिक इजलासले एमिकस क्युरी मगाएको थियो। एमिकस क्युरीको अर्थ अदालतको सहयोगी भन्ने हुन्छ। महत्त्वपूर्ण मुद्दामा मुद्दाका पक्ष विपक्ष कतै नभए तापनि त्यसको सरोकारवाला रहेका, सामान्यतया कानुनविद्हरूको समूह गठन गर्ने गरिन्छ जसले अदालतलाई उक्त मुद्दामा आफ्ना राय सल्लाह दिन सक्छ।
संसद् विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा असार ९ गते पेशी तोकिएको जनाईएको छ।


ताजा समाचार