आजः बिहिबार, अशोज २८, २०७८

बाँकेका किसान चैते धान फलाउन सफल

बाँके – बाँकेका किसान पहिलो पटक चैते धान फलाउन सफल भएका छन् । बर्खे धान भन्दा चैते धान उत्पादनमा दोब्बर वृद्धि भएको किसानहरूले अनुमान गरेका छन् । उत्पादन देखेर गाँउका अन्य किसान पनि आकर्षित भएका छन् । पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर चिनिँदै आएकाे छ । बर्दियाका किसान एक दशक अघिदेखि चैते धानतर्फ आकर्षित भए पनि उत्पादन लिन सकिरहेका थिएनन् । यस वर्ष भने बाँकेका किसानले चैते धान फलाउन सफल भएका छन् ।राष्ट्रिय गौरवको आयोजनाले नहरमा पानी आउन थालेपछि चैते धान लगाउन किसान उत्साही भएका थिए । नहरमा १२ महिना नै पानी आउन थालेपछि किसानहरूलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियोे । चैते धान फलाउन सफल बैजानाथ गाँउपालिका ८ झिंगौराका किसान अजितकुमार सुनारले यो वर्षको परीक्षण सफल भएकाले अर्को वर्षदेखि थप जमिनमा धान रोप्ने सोच बनाएको बताउनुभयो ।यस्तै कोहलपुर नगरपालिका १५ चौधरिया गाँउका किसान ज्ञानबहादुर नेपालले पनि ११ कट्ठा जमिनमा चैते धान फलाउन सफल हुनुभएकाे छ । किसान नेपालले असार पहिलो हप्तासम्म चैते धान थन्क्याएर बर्खे धान लगाउने तयारी गरेको बताउनुभयो । परीक्षणको रूपमा उहाँले हल्दीनाथ– ३ र चैते धान– ५ नामक धानको खेती गर्नुभएको छ ।लामो समयदेखि कृषि पेसामा आबद्ध नेपालले सिक्टा सिँचाइको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई पनि सिकाइ हुने भन्दै चैते धानको खेती गरेकाे किसान नेपालकाे भनाइ छ । एक वर्षमै सुरुमा बर्खे धान, त्यसपछि हिउँदमा मसुरो हुँदै चैतमा चैते धान खेती गरेको नेपालले बताउनुभयो । घर नजिकैको शाखा नहरमा सिक्टा सिँचाइको पानी आउन थालेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको उहाँकाे भनाइ छ । धानको खेती गर्ने जानकारी गराएपछि सिक्टा सिँचाइ आयोजनाबाट प्राप्त हौसला र सहयोगले आफूलाई थप प्रोत्साहन मिलेको किसान नेपालले बताउनुभयो ।


ताजा समाचार