आजः बुधबार, असार ९, २०७८

जिल्लामा तरकारी आयात रोकेपछि सदरमुकाममा तरकारीको अभाव

दैलेख – कोभिड संकट व्यवस्थापन समितिले जिल्लामा निषेधाज्ञा निर्णयसंगै तरकारी आयातमा रोक लगाएको कारण सदरमुकाममा तरकारी अभाव भएको छ । दैलेख भएर माथिल्लो कर्णालीका जिल्लामा लैजान दिए पनि सदरमुकाममा मात्र रोकिएकोप्रति व्यापारी र उपभोक्ताहरुले असन्तुष्टी पोखेका छन् ।
‘जिल्लाकै उत्पादनले पुगीहाल्छ होला’ भनेर तरकारी आयातमा रोक लगाइएको दैलेख प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले टिप्पणी गर्नुभयो । कोभिड संकट व्यवस्थापन समितिले तरकारी जस्तो अध्यावश्यक बस्तु आपूर्ति रोक्ने निर्णय गलत भएको सदरमुकामका व्यापारी कृष्णा देवकोटाको टिप्पणी छ ।
निषेधाज्ञा निर्णयसंगै तरकारी आपूर्ति रोकिएको कारण जिल्ला सदरमुकाममा पहिले ५० रुपैंयाँमा पाइने आलु ६० रुपैंयाँ, ६० रुपैंयाँमा पाइँदै आएको प्याज र टमाटर प्रति केजी ८० रुपैंयाँ पुगेको छ । हरियो तरकारी र फलफूल आपूर्ति हुन नसकेको कारण गाउँमा उत्पादन भएको सागपात र निउरो उपभोग गर्नेहरुको संख्या बढेको छ ।
प्रमुख जिल्ला अधिकारी प्याकुरेलले स्थानीय उत्पादनले पुगीहाल्ला भनेर तरकारी आपूर्ति रोकिएको भन्नुभए पनि निषेधाज्ञाको कारण यातायात सहज नभएको कारण कृषकहरुले बारीमा उत्पादन भएको तरकारी बेच्न नपाएको बेस्तडाका कृषक गणेश रोकायको टिप्पणी छ ।
दैलेखमा निषेधाज्ञा सुरु भएको आज ३१ दिन पुगेको छ । सुरुका तीन हप्ता सात–सात दिन २१ दिन र चौथो पटक १० दिन थपिएको निषेधाज्ञा आज राति सकिंदैछ । भोलिदेखि दैलेख जिल्लाभर थप १० दिन निषेधाज्ञा बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जानकारी दिनुभयो ।
थपिएको निषेधाज्ञामा पनि जिल्लाका ७ गाउँपालिका र ४ नगरपालिका क्षेत्रमा विहान ६ बजेदेखि साढे ८ बजेसम्म दैनिक अढाई घण्टा मात्र खाद्यबस्तु तथा अत्यावश्यक बस्तु किनमेल गर्न दिने गरी पसलहरु खोल्न दिने कोभिड संकट व्यवस्थापन समितिले निर्णय गरेको बताइएको छ ।


ताजा समाचार