आजः बिहिबार, बैशाख २३, २०७८

महिला आयोगको आग्रह : महामारीमा लैंगिक हिंसा रोकियोस्

काठमाडौं : राष्ट्रिय महिला आयोगले कोभिड-१९ महामारीको समयमा हुने लैङ्गिक हिंसा रोकथाम एवं नियन्त्रण गर्न सरोकारवालाहरुसँग छलफल गरेको छ।

बुधबार आयोगकी अध्यक्ष श्री कमला कुमारी पराजुलीले निषेधाज्ञाको समयमा आयोगले महिला माथी हुने हिंसाको रोकथाम तथा नियन्त्रण कसरी प्रभावकारी रुपमा गर्न सक्छ भन्ने विषयमा चिन्ता प्रकट गरिन।
मानव अधिकार आयोगका माननीय सदस्य श्री लिलि थापाज्यूले बैठक सही समयमा संचालन गरेको भन्दै इमर्जेन्सी रेस्पन्स टीम परिचालन गर्नु पर्ने बताइन्।

आयोगकी सदस्य श्री कृष्ण कुमारी खतिवडाले सङ्कटको समयमा सबैभन्दा समस्या महिलालाई नै हुने भएकाले विगतजस्तो घटनाहरु दोहोरिन नदिन गृह मन्त्रालयसँग समन्वय गरी काम गर्नुपर्ने उनको भनाइ छ।

महिला तथा बालबालिकाको मानसिक, आर्थिक, तथा कानूनी समस्याको सहजीकरण गरी सबै निकायहरुसँग समन्वय गर्नुपर्ने सहभागी महिलाहरूको जोड थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट रोशनी देवी कार्की, गृह मन्त्रालयबाट श्री रामहरी शर्मा, वैदेशिक रोजगारी बोर्डबाट मैया कँडेल, आयोगका साझेदार संस्थाहरू साथै नागरिक समाज लगायतका विभिन्न संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति थियो।


ताजा समाचार