आजः बुधबार, असार ३१, २०७७

‘लोग्नेमान्छेलाई माया, सेक्स र रक्सी चाहिँदोरहेछ’

आफूलाई स्वघोषित फिक्सन डिजाइनर मान्ने कुमार नगरकोटी अनौठा स्वाभावहरुका कारण शहरमा ‘बदनाम’ छन् । उनी आफ्ना पुस्तकमा ती सबै सन्दर्भ उल्लेख गर्छन्, जो भद्र लेखक कानेखुशी गर्नसमेत डराउँछन् । आफ्नो पहिलो यौन समागम यौनकर्मीसँग भएको उद्घोष गर्न नहिच्किचाउने नगरकोटीले गरेको पहिलो विवाह असफल भएको थियो, त्यो पनि विवाहको पहिलो महिनामै ।

अरुकी श्रीमतीसँग प्रेम गरेको र अरुको घर बिगारेकोसमेत उनी सहजै लेख्छन् र आफ्ना ती ‘हर्कत’प्रति रत्तिभर पश्चाताप गर्दैनन् । दशौं वर्षसम्म पानीभन्दा रक्सी बढी पिए । धेरैपटक प्रहरी चौकीमा थुनिए । यस्ता अनेक किस्साबारे उनी गौरवका साथ कलम चलाउँछन् । सागसब्जी, मासु र फलफूलभन्दा रक्सी रुचाउने नगरकोटी ४० वर्षको उमेरसम्म पुग्दा जम्माजम्मी चारपटक बिरामी भए, त्यो पनि अति सामान्य ।

पछिल्लो पटक उच्च रक्तचापले थलिएपछि भने उनले रक्सी छाडेका छन् । केही अघिसम्म उनी एउटा बोर्डिङ स्कुलका शिक्षक थिए । त्यही आम्दानीले जीवन गुजारा गरिरहेका नगरकोटी पछिल्लो समय जागिर छाडेर पूर्ण लेखनमा आएका छन् । लेखेरै बाँच्ने रहर छ उनको । समयको विपरीत धारमा बाँचिरहेका नगरकोटीको घर कसरी चलेको छ त ? २८ मंसिरमा दोस्रो विवाहको आठौं वाषिर्कोत्सव मनाउने तयारी गरिरहेका नगरकोटीलाई भेट्न हामी पाटन गल्लीको बालकुमारी मन्दिरछेऊमा रहेको उनको पुरानो डेरा पुग्यौं । एउटा पुरानो घरको तेस्रो तलामा पुग्दा नगरकोटी पुस्तकहरुले घेरिएको र चुरोटको धुँवाले अन्धकारझैैं देखिने कोठामा थिए । हामीले देख्यौं, उनी श्रीमतीका हातबाट ठूलो मगमा कफी लिइरहेका थिए । अघोरीको पहिरनमा भेटिएका नगरकोटीलाई कफी दिने उनै सावित्री कार्की थिइन्, जसको चर्चा उनको पुस्तकमा सधैं हुने गर्छ । नगरकोटीका पुस्तक पढ्नेहरुलाई उनको निजी जिन्दगी जसरी फेन्टासी लाग्छ, सावित्री कार्कीलाई भने उस्तै दिक्क लाग्दोरहेछ ।

कुरा त्यही कफीबाट सुरु गरियो ।

कुमारजी कफी कडा खानुहुँदो रहेछ, सधैं यस्तै बनाऊ भन्नुहुन्छ ?

ओहो, कुरै नगरौं । कालो कफी खाएर होला, हेर्नुस् त शरीर नै कालो भइसक्यो । चुरोटको धुवाँले भित्र कालो भएको होला, कफीले छाला कालो पारेको हो कि ।

दिक्क लाग्छ ?

कुरै नगरौं, कस्तो लोग्ने पाएँछु भन्ने लाग्छ । संसारमा यस्तो केटाकेटी मान्छे त कसैले स्याहार्न नपरोस् ।

केटाकेटीलाई जस्तै स्याहार्नु पर्छ र ?

लौ, अल्छिको महाराज । तपाइर्ं आउनुअघि कोठा सफा गरेकी हुँ । फोहोरको डंगुरमा बस्नुहुन्छ । के सफा, के फोहोर थाहै पाउनुहुन्न । विवाह गरेर आउँदा त म उहाँजस्तो मानिस पनि हुँदारहेछन् भनेर छक्क परेकी थिएँ ।

विवाहअघि यो मान्छे यस्तो थियो भन्ने लागेको थिएन ?

स्कुल पढाउन आउनुहुन्थ्यो । सबै विद्यार्थीले माया गरेको देख्थें । रक्सी खानुहुन्छ भन्ने थाहा थियो, अनौठो मान्छे हुनुहुँदोरहेछ भन्ने लागेको पनि हो । कहिलेकाहीँ हामी ‘के सारो बैरागी ?’ भनेर जिस्क्याउँथ्यौं । तर, यति सारो होला भन्ने थाहा थिएन ।

बेक्कार बिहे गरेँछुजस्तो लाग्छ कि क्या हो ?

कहिलेकाहिँ लाग्छ । तर, लागेर के गर्नु, अब उहाँले पनि अर्को पाउने हो होइन, मैले पनि पाउने हो कि होइन । आफ्नो पनि माया लाग्छ, उहाँको पनि लाग्छ । छोरो पनि हुर्किंदैछ, त्यसैले छाड्न सक्दिनँ ।

सधैं यस्तो सोच्नुहुन्छ कि कहिलेकाहीँ मात्र ?

कहिलेकाहीँ मात्रै सोच्छु । पैसा अभाव भएका बेला सधैं यस्तै सोच्छु । तर, मान्छे मायालु हुनुहुन्छ । अरुका लोग्नेले स्वास्नी कुटेर हैरान, अनेक झूटो बोलेर हैरान । उहाँ त्यस्तो हुनुहुन्न । बच्चाझैं सोझो र इमानदार हुनुहुन्छ । झुटो बोल्नुहुन्न । अहिलेको जमानामा कहाँ पाउनु यस्तो मान्छे । यो ठूलो कुरा होजस्तो लाग्छ । उही कहिलेकाहीं पैसाको अभाव हुन्छ, छोराको फी, कोठा भाडा, यी सबैले दिक्क बनाउँछन् । कतिबेला त रातभरि निन्द्रा लाग्दैन । राति अनेक कुरा सोच्छु, बिहान उठेर लोग्नेलाई हेर्छु, सबै ठीक हुन्छ ।

तपाईंहरुको भेट ‘लेडिज ट्वाइलेट’मा भएको होइन ?

बिहे हुनुभन्दा ५/६ वर्षअघिको कुरा हो । उहाँले सायद पिउनुभएको थियो, याद भएन होला । स्कुलको लेडिज ट्वाइलेटमा छिरेर पिसाब फेर्ने प्रयासमा हुनुहुन्थ्यो । म त्यही स्कुलको क्यान्टिनमा काम गर्थें र ट्वाइलेट सफा गरिरहेकी थिएँ । उहाँलाई देख्दानासाथ झट्ट मैले ‘तपाईं कहाँ आउनुभएको ?’ भनेर हपारें । ‘ए, हो र ?’ भनेर उहाँ फर्किनुभयो । तर, यो घटना मैले बिर्सिसकेकी रहेछु । विवाह गरेपछि पहिलो रात उहाँले भनेपछि पो सम्भिmएँ । हनिमुनको रात हामी खुब हाँसेका थियौं ।

प्रेम विवाह हो ?

खै, प्रेम विवाह भन्ने कि मागी । प्रेम भन्ने हो भने चिनजान मात्रै थियो । कहिल्यै प्रेम प्रस्ताव राख्नुभएन । उहाँकी पहिली श्रीमतीले छाड्नुभएको भन्ने थाहा थियो । यही कारण ‘बिहे कहिले गर्नुहुन्छ ?’ भनेर जिस्क्याइरहन्थें । एक दिन ‘तिमी मसँग बिहे गर्छौ भने म विवाह गर्छु’ भन्नुभयो । मैले कहिल्यै कल्पना गरेकी थिइनँ । म साधारण क्यान्टिनमा काम गर्ने मान्छे, उहाँ अंग्रेजी शिक्षक । म स्कुलमात्रै पढेकी केटी, उहाँ संसार कलेज भ्याउनुभएको मान्छे । म कार्की, उहाँ नेवार । छक्क परेँ ।

अनि ?

भोलिपल्ट मलाई आफ्नो काठा हेर्न बोलाउनुभयो । उहाँकी आमा आउनुभएको रहेछ । ‘तिमीहरु आजै विवाह गर’ भन्न थाल्नुभयो । म छक्क परेँ । कसैलाई भनेकै थिइनँ । अचानक आँट आयो । त्यहीँबाट बजार गयौं र एकसरो कपडा किन्यौं । कोठाअघिको बालकुमारी मन्दिरमा आधा घण्टामा विवाह सक्यौं । उहाँको कोठा हेर्न भनेर आएकी थिएँ, सधैंका लागि उहाँसँगै बसें ।

काठमाडौंमा विवाहअघि तपाईं कोसँग बस्नुहुन्थ्यो ?

हाम्रो घर रामेछाप हो । आमा-बुवाका हामी तीन छोरी र तीन छोरा हौं । पढ्न नसकेपछि म कमाउन काठमाडौं आएँ । पहिले साथीहरुसँग थिएँ, कमाउन थालेपछि एक्लै बस्न थालेँ । विवाहका बेला घरमा खबर गर्दा ‘नेवारको छोरालाई छोरी दिन्नँ’ भन्न सक्नुहुन्थ्यो । त्यही भएर एक्लै विवाह गरें । उहाँका भने केही साथीहरु हुनुहुन्थ्यो ।

विवाहपछिका शुरुका दिन कसरी सम्झिनुहुन्छ ?

उहाँ पूरै ऋणमा डुब्नु भएको रहेछ । घर भाडा, पसल चारैतिर पैसा तिर्न बाँकी रहेछ । त्यो तिरिदिएँ । उहाँ तीन दिनमा एक दिन भात पकाउनुहुँदोरहेछ । कोठा बसिनसक्नु फोहोर रहेछ । सफा गरिदिएँ । बाहिर रक्सी खाएर मध्यरातमा फर्किनु हुँदोरहेछ । घरमै बसेर रक्सी खाने वातावरण मिलाइदिएँ । एउटा लोग्ने मान्छेलाई माया, सेक्स र रक्सी चाहिँदो रहेछ भन्ने थाहा पाएँ । ती सबै कुरा राम्ररी दिने प्रयास गरें ।

उहाँका पुस्तकमा तपाईंसँगका आन्तरिक कुरा पनि लेख्नुहुन्छ, मनपर्छ ?

अरु त मनपर्छ, तर हाम्रो सेक्सका कुरा नलेखेको भए हुन्थ्यो भन्ने लाग्छ ।

यस्तो लेख्नुहुँदैन भनेर सम्झाउनुहुन्न ?

पहिले-पहिले मलाई लेखेको कुरा सुनाउनुहुन्थ्यो, उहाँका दुःख सम्झेर रुन्थें । पछि सुनाउन छाड्नुभयो । आजभोलि छापिएपछि मात्रै पढ्छु । कति त बुझ्दिनँ, त्यसैले थाहै पाउँदिनँ । मलाई अक्षरमा के लेखिएको छ भन्दा पनि पुस्तकमा र पत्रिकामा उहाँको फोटो छापियोस् भन्ने लाग्छ । ठूलो फोटो छापिँदा खुशी लाग्छ । त्यसरी फोटो छापिएका बेला दिन नै उज्यालोजस्तै लाग्छ ।

अरु महिला र तपाईंको जीवनमा के फरक छ जस्तो लाग्छ ?

अरुका लोग्ने मान्छे कमाउन जान्छन् । मेरो लोग्ने घरमै बसिरहनुहुन्छ । अरुका लोग्ने मानिसका साथीहरु छन्, मेरा लोग्नेका जम्मा दुई जना साथी छन् । एकपल्ट छोरा सानो छँदा उहाँ विरामी हुनुभयो, मध्यरातमा प्रेसर बढेर उहाँ जानै लाग्नुभयो । त्यसबेला थाहा भयो, उहाँका साथीहरु नै रहेनछन् । मेरा पनि छैनन् । पैसा पनि नभएको, साथी पनि नभएको देख्दा अनौठो लाग्छ ।

माइतीमा केही भन्नुहुन्न ?

उहाँ ससुराली खासै जानुहुन्न । घर पनि बनाइएको छैन । पहिले-पहिले म माइती जान्थेँ, उहाँहरु ‘ज्वाईं किन आउनुभएन ?’ भनेर सोध्नुहुन्थ्यो । पछि त बानी भयो । दिदी-बहिनीका श्रीमानहरुले पैसा कमाउँछन्, सुटेड-बुटेड छन् । त्यो बेला हाम्रो बैंक एकाउन्ट पनि थिएन । उपहार दिएको मोबाइल र ल्यापटप बोक्नुहुन्छ । उहाँको ड्रेस नै अनौठो । परिवारका सबै छक्क पर्नुहुन्छ । उहाँ ससुरालीमा भन्दा घाटमा हिँड्न मन पराउनुहुन्छ । हाम्रो जीवन अलि फरक छ ।

कहिलेकाहीँ झगडा पर्छ ?

एकपल्ट मैले एक लात हानेकी थिएँ । उहाँले झापड फर्काउनुभएको थियो, त्यत्ति हो । मैले पैसाको किचकिच गरेँ भने हाँसेर टार्नुहुन्छ । ‘मेरो जीनमा घर, गाडी, साथीभाइ केही छैन’ भन्नुहुन्छ । म चुप लागेर बस्छु । यो जुनीमा उहाँलाई सुधार्न सक्छु भन्ने लाग्दैन ।

उहाँको कुन कुरा सम्झँदा अनौठो लाग्छ ?

उहाँ यो पाटन गल्लीमा बस्न थालेको ११ वर्ष भइसक्यो । त्यसबेला रक्सी खाँदा उहाँ १२ बजेसम्म बाहिर बस्नुहुन्थ्यो । भट्टीबाट बाहिर आएपछि शंखमूलको धारामा नांगै नुहाउनुहुन्थ्यो र फ्रेस भएर घर फर्किनुहुन्थ्यो । तर, सधैं आफ्नो घर बिर्सनुहुन्थ्यो । बाटामा आएपछि मैले घर बिर्सिएँ भनेर कहिले मलाई, कहिले साथीहरुलाई फोन गर्नुहुन्थ्यो । यत्रो वर्ष बसेको ठाउँ आफ्नै घर बिर्संदा अनौठो लाग्छ । अहिले पिउन छाड्नुभएको छ, त्यो समस्या टरेको छ ।

रक्सी छाड्नुभयो, यो चुरोट पनि छाड्नुभए हुने थियो भन्ने लाग्दैन ?

प्रेसर बढेपछि रक्सी छाड्नुभयो । पहिले खुक्स (खुकुरी चुरोट) खानुहुन्थ्यो । अलि कडा भयो रे । आजभोलि दयाहाङ राईले उपहार दिनुभएको मार्लबोरो पिउन थाल्नुभएको छ । यो अलि सफ्ट हुन्छ रे । कुनै दिन यो पनि छाड्नुहोला । आखिर चाँडै मर्ने सोख त कसलाई होला र ?

साभार अनलाइन खबर


ताजा समाचार