आजः मङ्लबार, माघ १३, २०७७

प्रधानमन्त्री ओली को झापामा अत्यधिक बहुमत

 

झापा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादले माथिदेखि तलसम्मै विभाजनको रेखा कोरिरहेका बेला झापाको राजनीतिमा भने प्रधानमन्त्री केपी ओली नेकपाको वर्चस्व देखिएको छ । प्रधानमन्त्रीको गृहजिल्ला भएको हैसियतले पनि झापामा ओली समूहको पल्ला भारी देखिएको हो ।

पार्टी विभाजनको स्थितिमा पुगेपछि झापा नेकपामा पनि नेता-कार्यकर्ताको जोडघटाउ सुरु भएको छ । बहुमतकै हिसाबलाई हेर्ने हो भने झापाका जनप्रतिनिधि कसको पक्षमा कति भन्ने विषय अहिले तातेको छ ।

एक सय ७७ सदस्यीय जिल्ला कमिटीमा पूर्वएमालेबाट एक सय ६ जना र पूर्वमाओवादीबाट ७१ जना सदस्य छन् । पूर्वमाओवादीबाट प्रतिनिधित्व गर्ने जिल्ला सदस्य पनि ओलीको नेतृत्वमा जान सक्ने र पूर्वएमालेका जिल्ला सदस्य पनि प्रचण्ड-माधव प्यानलमा जान सक्ने देखिएको छ ।

ओलीको गृहजिल्ला भएकै कारण झापामा उनको स्पष्ट बहुमत देखिन्छ । सूर्य चिह्न कसले पाउँछ, त्यसमा भर पर्ने जिल्ला कमिटी सदस्य डम्बर गिरीले बताए । उनले भने, ‘अदालतको फैसलापछि मात्रै प्यानल रोज्ने धेरै सदस्यहरू छन् । ओली प्यानललाई अदालतले वैधानिक ठहर्‍याए अर्को पक्षका केन्द्रीय सदस्यसमेत उनकै हुन्छन् ।’

कार्यालय कमिटीमा बराबरी अवस्था देखिए पनि सचिवालयमा ओली पक्षको बहुमत रहेको सचिवालयकै एक सदस्यले दाबी गरे

झापामा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूमा ओली पक्षको बहुमत स्पष्ट देखिएको छ । जिल्लामा १५ पालिकाका ३० प्रमुख र उपप्रमुखमा १५ जना ओली पक्षधर छन् । कांग्रेसका सात, राप्रपाका चार र प्रचण्ड-नेपाल समूहका तीन जना छन् ।

झापामा ओली पक्षका प्रमुख/उपप्रमुखमा मीना पोखरेल उप्रेती, ध्रुव शिवाकोटी, मीरा भूर्तेल, कमला आचार्य, राजेन्द्र पोखरेल, मञ्जु प्रसार्इं, चन्द्र शेर्मा, मेनुका काफ्ले, बेनु शिवाकोटी, रोमनाथ ओली, गीता अधिकारी, गीता भेटवाल, कुन्ति बुढाथोकी, जीवन श्रेष्ठ र डम्बर गिरी रहेका छन् ।

यस्तै, प्रचण्ड-नेपाल समूहबाट प्रमुख र उपप्रमुखमा हरि राना, चन्द्रा श्रेष्ठ र भोजकुमारी नेपाल रहेका छन् । बिर्तामोडकी उपप्रमुख पवित्रा महतरा तटस्थ छन् । पूर्वमाओवादीले झापामा प्रमुख र उपप्रमुखमा एक सिट पनि जितेको छैन । जितेका तीनै जना माधव नेपाल पक्षधर हुन् ।

 

 

 

 


ताजा समाचार