आजः मङ्लबार, माघ १३, २०७७

खुमलटारमा ओली-प्रचण्डको ‘ब्रेक फास्ट मिटिङ’: होला त मिलन..?

 

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भित्रको विवाद समाधानका शीर्ष नेताहरुबीचको भेटवार्ता तीव्र बनेको छ। शनिबार शीर्ष नेताहरु एकल र संयुक्त भेटवार्तामा व्यस्त बनेका हुन्।

बालुवाटारबाटै राजनीतिक गतिविधी सञ्चालन गर्दै आएका प्रधानमन्त्री केपीशर्मा ओली शनिबार बिहानै खुमलटार, पुल्चोक हुँदै राजनीतिक भेटघाट बाक्लो बनाएर फर्किएका छन्।प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली शनिबार बिहानै ‘ब्रेक फास्ट मिटिङ’ का रूपमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका थिए। प्रचण्ड निवासमा अध्यक्षद्वयबीच पार्टीभित्र देखिएका विवादका विषयमा छलफल भएको खुमलटार स्रोतले जनाएको छ।

भेटमा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश आफूले फिर्ता लिन र पार्टी विवाद मिलाउन आफूले कहाँ के गर्नुपर्ने हो छलफल गर्न तयार रहेको बताए। उनले आफूमाथि गम्भीर आरोपसहित बैठकमा पेश भएको आरोपपत्र फिर्ता गर्न प्रचण्डलाई आग्रह गरेको स्रोतले जनाएको छ।

जवाफमा प्रचण्डले त्यो आरोपत्र नभइ दस्तावेजका रुपमा आएको स्मरण गराउँदै बैठकमा छलफल पश्चात फिर्ता गर्नुपरेपनि बैठकबाटै गर्ने बताएको खुमलटार स्रोतले जनाएको छ। ‘पार्टी कमिटीमा प्रस्ताव पुगिसकेको छ, बैठकले जे निर्णय गर्छ त्यो स्वीकारेर अगाडि बढ्न तयार छु, कमिटीले राजनीतिक प्रस्ताव फिर्ता लिनु भने त्यहीँबाट लिउँला’ ओलीसँग प्रचण्डले भनेका थिए।

अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल चलिरहेको बेला उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए। उनीहरुबीचको सवाल-जवाफ साक्षीको रुपमा मात्र गौतम रहेका थिए। उनले अध्यक्षद्वलाई विवाद समाधान गर्न मिलेर अगाडि बढ्न आग्रह गरेपनि आफ्नो धारणा नदिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री र गृहमन्त्रीबीच भेट

प्रचण्डसँगको छलफलपछि ओलीले गृहमन्त्री रामबहादुर थापा‘बादल’लाई फोन गरेर भेट्न पुगेका थिए। ओली गृहमन्त्री ‘बादल’को निवासमा एक्लाएक्लै छलफलमा जुटे। बादलसँगको भेटवार्ता चलिरहँदा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ पनि छलफलमा सहभागी हुन पुगेका थिए।

भेटमा ओलीले सचिवालय सदस्यसमेत रहेका थापालाई माओवादी धारबाट नेतृत्व गरेर सरकारमा आएकाले विशेष भूमिका खेलिदिन आग्रह गरेको नेकपा निकट स्रोत जनाएको छ। प्रचण्डसँग भेटमा भएका छलफलको विषय जानकारी गराउँदै ओलीले खास कुरा मिल्न नसकेकाले आरोपसहितको प्रस्ताव फिर्ता गराएर आन्तरिक विवाद समाधानका लागि भूमिका खेल्न गृहमन्त्री थापालाई आग्रह गरेको बताइएको छ।

यता खुमलटारबाट प्रधानमन्त्री ओली बाहिरिए लगत्तै प्रचण्डसँग छलफल गर्न वरिष्ठ नेता माधव नेपाल पुगेका थिए। प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई दबाब दिँदै आएका छन्। प्रचण्डले पेस गरेको १९ पृष्ठ लामो ‘आरोपपत्र’ माथि छलफल नगर्ने भन्दै ओलीले उक्त प्रस्ताव फिर्ता हुनुपर्ने अडान राख्दै आएका छन्।

नेकपाको स्थायी समिति बैठक आइतबार बस्दैछ। दुबै अध्यक्षका प्रस्ताव फिर्ता लिएर आइतबार बस्ने स्थायी कमिटीको बैठकमा साझा प्रस्ताव लैजानुपर्ने ओली पक्षका नेताहरुले माग गरेका छन्।

भदौ २६ मा प्रचण्डले पार्टी र ओलीले सरकार सञ्चालन गर्ने तर एकआपसमा महत्वपूर्ण निर्णय गर्दा समन्वयमा अगाडि बढ्ने गरी कार्यविभाजन गरेर जाने समझदारी भएको थियो।

पार्टी भित्र नेतृत्वको कार्यविभाजनमा ओली र प्रचण्डबीच मनमुटाव भएपछि साउन ३० गते महासचिव पौडेलेको संयोजकत्वमा ‘विवाद समस्या समाधान सुझाव कार्यदल’ गठन गरिएको थियो।

कार्यदलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता जनार्दन शर्मा र पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सहभागी थिए। कार्यदलले ओली र दाहालबीच गत वर्ष मंसिर ४ गते भएको कार्यविभाजन सम्बन्धी सहमतिलाई पुर्नव्याख्या गर्दै ओलीले पुर्णरुपमा सरकार चलाउने र प्रचण्डले पुर्णरुपमा पार्टी चलाउने तर एकअर्कासँग समन्वय गर्नुपर्ने प्रस्तावसहित १५ बुँदे प्रतिवेदन दिएको थियो।

उक्त प्रस्तावमा संवैधानिक नियुक्ति, राजदूत नियुक्ति र मन्त्रिपरिषद् हेरफेर गर्दा पार्टीको सल्लाह–सुझाव लिनुपर्ने निर्णय भएको थियो।

पार्टी एकताका अन्य निर्णयसमेत गरेर कार्यदलले भदौ ६ गते आफ्नो प्रतिवेदन ओली र दाहालसमक्ष पेश गरेकोमा उनीहरुले त्यसमा सहमति जनाउँदै २५ भदौको स्थायी कमिटी बैठकमा पेश गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले एकलौटी रुपमा सरकार सञ्चालन गरेको भन्दै ओली र प्रचण्डबीच असन्तुष्टि चुलिएको थियो। अन्नपूर्ण पोस्टबाट

 

 

 

 


ताजा समाचार