आजः शुक्रबार, मंसिर १२, २०७७

उठौं, कुटौं, फुटौं, जुटौं, सुतौं…..!


मंसिर ६, २०७७
‘तिहार सकियो त ?
‘तिहार हैन, ती जित भन, ती जित । हार भन्ने शब्द मेरो शब्दकोषमै छैन ।’

 

‘खुब जित रु हामी नमिलेको भए जितेको जित्यै हो ! हार मात्रै भैरहन्थ्यो सधैं ।’
‘फूलमालाको हार हुन्थ्यो, अरुले हराउने हार हैन । एक्लो भए पनि सधैं मेरै जित ।’

‘पत्याइयो, खुबै पत्याइयो …….ठिकै छ ल भैहाल्यो, म झगडा गर्नकै लागि आएको हो । तिहारपछि झगडा गर्ने भन्ने कार्ययोजना थियो नि हाम्रो ।’
‘गरौं भने गरौं । अरुथोक गर्न जानिएन त ठूलो भएर पनि । झगडै गर्ने त हो नि, नानीदेखि लागेको बानी !’

‘तँ कसरी ठूलो रु म हो ठूलो, तँ त सधैं सानो । जन्मदैमा सानो । बुद्धिले पनि सानो, बानीव्यहोराले पनि सानो !’
‘हैन म हो ठूलो, तँ त सानो । तँ एकपटक उहिल्यै पेटमा जुका परेर भुँडी फुलिएर ठूलो भएको मात्र, त्यसपछि त सधैं सानो ।’

‘खुब तँ त कहिल्यै सानो नभएको नि ?
‘म त सानोबाट ठूलो हुँदै हुँदै आएको, अब कसैले छुन नसक्ने सधैंका लागि ठूलो भैसकें ।’
‘खुब, मैले टेको नदिएको भए हुन्थिस् नि ठूलो ?’
‘अँ तेरै सिन्कोजस्तो टेकोले अडिएको होला नि रु हामी त यसै ठूलो ।’
‘तेरो जुँगा सेतो, मेरो कालो ।’

‘मेरो सेतो भएर पनि कालो भएको, तेरो त तिलचामले पाक्दै नपाकेको । म परिपक्व, तँ अपरिपक्व, आलाकाँचे ।’
‘तँ चैते ।’
‘तँ झालेमाले ।’
‘तँ लुरे, म मोटे ।’
‘लुरे भए पनि मेरो पावर ठूलो, तेरो पावर सानो ।’
‘तँ रोगी, म निरोगी ।’

‘म रोगी भएर पनि निरोगी, तँ निरोगी भएर पनि रोगी ।’
‘तँ हुतियारा ।’
‘तँ ज्यानमारा ।’
‘तँ भ्रष्टाचारी ।’
‘तँ झन् महाभ्रष्टाचारी ।’
‘तँ पानी मरुवा ।’
‘तँ कट्टु छेरुवा ।’
‘तँ कुर्सी छोड ।’
‘तँ बाटो छोड ।’

‘तेरो पालो पुग्यो, अब सक्दैनस् ।’
‘तेरो पालै आएको छैन ।’
‘कुर्सी नभई म बच्नै सक्दिनँ ।’
‘म कुर्सीमा बसिनँ भने त झन् देश नै बच्दैन ।’
‘तैंले अब सक्दैनस् छोड ।’

‘तैंले त झन् कहिल्यै पनि सक्दैनस् मेरो ठाउँ ताक्न छोड ।’
‘तँ हैन, म हो अध्यक्ष ।’
‘तँ त दोस्रो अध्यक्ष, म पहिलो अध्यक्ष ।’
‘तँ त अध्यक्ष हैन, अदक्ष चाहिँ हो ।’
‘तँ आफ्नो परिवार र आसेपासेका लागि मात्रै दक्ष होस्, देशको लागि सधैं अदक्ष ।’
‘तँ विदेशीको दलाल ।’

‘तँ झन् विदेशीको इशारामा नाच्ने महादलाल ।’
‘तँ राष्ट्रघाती ।’
‘तँ जनघाती ।’
‘तँ घिउ बेचुवा ।’
‘तँ तरबार बेचुवा ।’
‘कुर्सी छोड् भन्या ।’
‘छोड्दिनँ के पालै पुगेको छैन ।’
‘बसिरहेर तँ के गर्छस् ?’
‘तँ बसिस् भने चाहिँ के गर्छस् नि ?’
‘म देश चलाउँछु ।’
‘मैले पनि चलाइराछु नि ।’
‘म पार्टी पनि चलाउँछु ।’
‘मैले पनि चलाइराछु नि ।’

‘खुब चलाएको छस् ? विदेशीले चलाएको हाम्लाई थाहा छैन !’
‘तँलाई पनि विदेशीलाई उचालेको हामीलाई थाहा छैन नि!’
‘बढी हुन्छस् ?’
‘तँ चाहिँ बढी हुन्छस् नि ?’
‘ल त्यसो भए कि तँ छैनस्, कि ! ?’
‘ल आइज, कि म छैन कि तँ ?’
………….
‘भो भो पुग्यो अहिलेलाई, थकाइ लाग्यो……!’
‘मलाई पनि गाह्रो भयो !’
‘एकछिन मिलौं, केही खाउँ न भोक लाग्यो!’
‘हो हो दुनियाँले थाहा पाउलान्, एकछिन चुप लागौं ।’
‘ल उठौं ।’
‘फेरि जुटौं ।’
‘हैन हैन, फुटौं ।’
‘कहाँ फुट्ने रु कुटौं ?’
‘लौ त कुट्, हेरौं !’
‘खोज्या हो ?’
‘हैन हैन के गर्या भन्या रु जुटौं क्या !’
‘मिलेर लुटौं!’

‘बाहिर जेसुकै होओस् ! दुनियाँले जेसुकै भनून् ! गर्नुपर्ने मुख्य काम जे जे होस् होस् ! आनन्दले सुतौं !’
‘फेरि उठौं !’
‘फुटौं !’
‘हैन जुटौं !’
‘नाईँ नाईं सुतौं !’
‘जुटौं !’
‘फुटौं !’
‘लुटौं !’
‘सुतौं………….!
(यो संवाद नेकपाको घरझगडासँग मिल्न गएमा संयोग मात्र हुनेछ ।) उज्यालो


ताजा समाचार