आजः आइतवार, कार्तिक ९, २०७७

समृद्धिको यात्रामा फलाम उत्खनन

 

महाभारत पर्वत अर्थात् लेसर हिमालयमा पाइने फलाम नेपालको प्रमुख धातुजन्य खनिज हो। नेपालमा प्राचीन कालदेखि नै घरेलु र कृषि कामका लागि फलामको प्रयोग हुँदै आएको पाइन्छ। धौवादी फलाम खानीसँगसँगै नेपालका मुख्य फलाम खानीहरूमा करिब एक करोड टन भण्डार भएका फुल्चोकी फलाम खानी (ललितपुर) र ठोसे फलाम खानी (रामेछाप), त्यस्तै १० लाख टन भण्डार भएका लब्दीखोला फलाम खानी (तनहं‘ु) र जेल्वाङ फलाम खानी (रोल्पा) आदि हुन्।

खानी उद्योग उद्योगहरूको विकास गर्ने र त्यस्ता उद्योग सार्वजनिक र निजी क्षेत्रको सझेदारीमा अगाडि बढाउने नीतिअनुरूप नेपाल सरकारले नवलपरासीपूर्वको फलाम खानीबाट फलाम र स्टिल उत्पादन गर्ने उद्देश्यका साथ धौवादी फलाम कम्पनी लिमिटेडको २०७६ सालमा स्थापना गरेको छ। महेन्द्र राजमार्गबाट करिब २० किलोमिटर उत्तरमा अवस्थित उक्त खानीलाई खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०६६/६७, ०६७/६८, ०६८/६९, ०७२/७३, ०७३/७४ र ०७४/७५ मा विभिन्न चरणमा खोज–अनुसन्धान गरेको छ। उक्त खानी क्षेत्रको सतहमुनिको अध्ययन र जानकारीनिम्ति ड्रिलिङसँगसँगै भूभौतिक अध्ययन पनि जारी राखेको छ। सार्वजनिक–निजी क्षेत्रको साझेदारी (पीपीपी मोडल) मा उक्त कम्पनीमा सरकारको ५५ प्रतिशत र निजी क्षेत्रको ४५ प्रतिशत लगानी रहने व्यवस्था गरिएको छ। खानी तथा भूगर्भ विभागले आव ०७३/७४ मा उक्त क्षेत्रमा दुई स्थानमा १०५ मिटर गहिराइसम्म डायमन्ड ड्रिलिंङ गरेको छ। साथै पाँचवटा होल ड्रिलिङ गरी १३ सय मिटर कोर ड्रिलिङ गरी उक्त खनिजको भौतिक तथा रासायनिक अध्ययन गरेको छ। रासायनिक प्रतिक्रिया भई खनिज निर्माण हुने भौगर्भिक प्रक्रियाको अध्ययनमार्फत हेमाटाइट, जुन फलाम खनिजको मुख्य स्रोत हो, उक्त खनिजको विभिन्न नमुनाको परीक्षणमार्फत पुष्टि गरिएको छ। नवलपरासीको धौवादी क्षेत्रमा रहेको करिब १० कि.मि. लम्बाइ र औसत २५ मि. मोटाइको फलामको धाउको अध्ययनबाट २४ देखि ५८ प्रतिशत फलाम खनिज रहेको करिब दुई करोड टन फलाम खनिजको खानी छ। उक्त खानीबाट प्रतिदिन झन्डै ८ सय टन फलाम उत्पादन गर्दा ३० वर्षसम्म फलाम उत्पादन गर्न सकिने देखिएको छ।

मुख्यतः ६०–६७ प्रतिशत फलाम रहेका खानीलाई उच्च गुणस्तरका फलाम खानी मानिन्छ। संसारका धेरै हेमाटाइट फलाम खानीहरू पृथ्वीको उत्पत्तिदेखि करिब ५४०० लाख वर्षसम्मका (पृक्यामब्रियन काल) र करिब १४०० देखि २६ लाख वर्ष पुरानो (क्रेटासियस–टर्सरी काल) का खानी पाइन्छन्। धौवादीको फलाम खानी करिव ७००–३०० लाख वर्ष (टर्सरी काल) मा सम्भवतः सामुद्रिक किनारको वातावरणमा बनेको मानिएको छ। उक्त पुरानो खनिजमा दोस्रो चरणको सेडिमेन्टरी परिवर्तनमा गोलाकारका उलाइट संरचना बनेका छन् र हाल केही मेटामोर्फोसिस पनि भएको छ। त्यसैले धौवादीको फलाम खानी ठोसे र फुलचोकीको फलाम खानीभन्दा फरक छ। यस प्रकारको उलाइटिक हेमाटाइटको प्रशोधन प्रक्रिया केही भिन्न र जटिल पनि छ। कुनै समय उलाइटिक हेमाटाइट पश्चिम युरोप र उत्तर अमेरिकाको फलाम र स्टिल उद्योगका मुख्य आधार थिए तर हाल यसमा चीनले नयाँ प्रविधिका साथ सफल काम गरेको पाइन्छ।

गएको दशकमा अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्यमा भारी गिरावट आए पनि उत्पादनमा भने वृद्धि भएको छ। चीनलाई विश्वकै ठूलो फलाम उत्पादक भनिए पनि उत्पादनको मापन प्रक्रिया भिन्न रहेको र अस्ट्रेलिया फलाम खनिजमा सर्वाधिक धनी भएकाले सन् २०१९ मा करिब ३९० मिलियन मेट्रिक टन फलाम उत्पादन गरेको अस्ट्रेलियालाई ठूलो उत्पादक भनिन्छ। विश्व बजारको करिब ६९ प्रतिशत फलाम आयात गर्ने चीन सबैभन्दा ठूलो फलाम खनिज आयातकर्तासँगै सबैभन्दा धेरै स्टिल उत्पादक राष्ट्र पनि हो।

सन् २०१९ मा चीनपछिको ठूलो स्टिल उत्पादक राष्ट्र भारत हो। हेमाटाइट र म्याग्नेसाइटसहित करिब २७ बिलियन टन फलाम खनिजको भण्डार रहेको भारतले राष्ट्रिय स्टिल (इस्पात) नीति २००५ मार्फत स्टिल र फलामको उत्पादनमा गुणात्मक वृद्धि गरी हाल २०१९–२० मा सय मिलियन मेट्रिक टनभन्दा धेरै स्टिल र फलाम उत्पादन गरेको छ। चीन, दक्षिण कोरियासँगैै भारतमा पनि फलाम खनिज उत्पादन र प्रयोगलाई वार्षिक वृद्धिदर र कूल ग्राहस्थ्य उत्पादनसँग समानान्तर र एकअर्काको परिपूरकका रूपमा विश्लेषण गरिन्छ। भारतले पनि फलाम खनिज व्यापारमा मुख्यतः खनिजको गुणस्तरमा नियमन गरेको छ। ६४ प्रतिशतभन्दा कम फलाम खनिज रहेको खानीहरू युरोप, जापान, दक्षिण केरिया र ताइवानमा निर्यात गर्छ भने उक्तभन्दा राम्रो गुणस्तरका फलामको निर्यातमा राष्ट्रिय आवश्यकतालाई ध्यान दिने नीति लिएको छ।

नेपालले भारतबाट सन् २०१८ मा करिब १२ सय मिलियन अमेरिकी डलरको स्टिल आयात गरेकोमा २०१९ मा भने करिब ९४०.९७ मिलियन अमेरिकी डलरको स्टिल आयात गरेको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय व्यापार प्रतिवेदनमा उल्लेख छ। अप्रिल २०१८ देखि मार्च २०१९ सम्म भारतको कुल स्टिल उत्पादनको १३.२ प्रतिशत आयात गर्ने नेपाल भारतको सर्वाधिक स्टिल आयातकर्ता हो। तसर्थ नेपालमा विकास हुँदै गरेको फलाम खानीको काममा र फलाम वा स्टिलको उत्पादन र व्यापारमा हाम्रो र भारतको स्वाभाविक चासो रहन सक्ने तथ्यांकले बताउँछ।

दोलखाको खरीढुंगा खानी र गणेश हिमाल सिसा खानीमा भएका प्राविधिक र प्रशासनिक कमजोरी पनि हामीले सिक्नुपर्ने महत्वपूर्ण पाठ हुन्।

ब्राजिलको करजास राष्ट्रिय वनको तीन प्रतिशत क्षेत्रमा मात्रै सञ्चालित संसारकै ठूलो ओपेन पिट (सुरुङ नबनाई खुला स्थानमा सञ्चालित खानी) फलाम खानी हो। उक्त खानीबाट हामीले धेरै सिक्न सकिन्छ। थोरै क्षेत्रफलमा सबैभन्दा ठूलो खानीमा अधिकांश स्वचालित मेसिन र उपकरण प्रयोग गरिएका छन्। टउसुरुइ बाँधबाट विद्युत् उत्पादन गरी सञ्चालित उक्त खानी कम्पनीमा ८५ प्रतिशत भटमास, ११ प्रतिशत जनावरको बोसो र चार प्रतिशत कपासको तेल प्रयोग गरी बायोडिजेल प्लान्टमार्फत ऊर्जा विकास गरिएको जैविक प्रविधि हामीकहाँ पनि अनुसरणीय छ। खानी सञ्चालन र विकास गर्दा खोज, अनुसन्धान र गुणस्तर नियमनसँगसँगै गर्नुपर्ने मुख्य कम हुन्। तसर्थ खानी सञ्चालनमा उपलब्ध साधनस्रोतको वैज्ञानिक उपयोग, दक्ष जनशक्ति, नवीन प्रविधि, वजेट व्यवस्थापन र उत्पादन बजारजस्ता कुरामा मुख्य ध्यान दिनुपर्छ।

विश्व बैंक समूहले प्रकाशित गरेको डुइङ बिजनेस प्रतिवेदनअनुसार नेपाल व्यवसाय सञ्चालनको सहजता सूचकमा सन् २०१९ को ११०औं स्थानबाट ६३.२ अंकसहित अहिले हालसम्मकै उच्च ९४औं स्थानमा रहेको छ, जसलाई उक्त काममा वैदेशिक सफल कम्पनीको पनि सहभागिता हुन सक्ने सकारात्मक सूचकका रूपमा लिन सकिन्छ।

अध्ययनकै क्रममा रहेकाले कति क्षमताको उद्योग तथा प्लान्ट बनाउने भन्ने यकिन भएको छैन। विभाग र कम्पनीले सम्भाव्यता अध्ययनका साथै वातावरणीय अध्ययन र ड्रिलिङको काम गर्दै आएको छ। फलामको औद्योगिक परीक्षण चीनको साउथवेस्ट मेटालार्गिकल एन्ड जीओलोजीकल टेस्टिङ सेन्टरमा भइरहेको छ। उक्त फलाम खानी सञ्चालनमा यसको प्रारम्भिक अध्ययन संवेदनशील रहन्छ। सम्भाव्य अध्ययन, खनिजको नमुना संकलन, प्रयोगशाला परीक्षण, प्रविधि र उपकरणको छनोट, बजारका साथै खानीबाट उत्पादित फलामबाहेक अन्य खनिजको व्यवस्थापन आज र भोलिका प्रमुख चुनौती हुन्। दोलखाको खरीढुंगा खानी र गणेश हिमाल सिसा खानीमा भएका प्राविधिक र प्रशासनिक कमजोरी पनि हामीले सिक्नुपर्ने महत्वपूर्ण पाठ हुन्।

 


ताजा समाचार