आजः आइतवार, कार्तिक ९, २०७७

सरकार र नेतृत्वप्रति यति धेरै वितृष्णा किन ?


असोज २०, २०७७
प्रधानमन्त्रीका सल्लाहकारहरुलाई कोरोना पुष्टि भएपछि पर्यटनमन्त्री योगेश भट्टराईले आफ्नो फेसबुक पेजमार्फत सबैको शीघ्र स्वास्थ्यको लाभको कामना गर्नुभयो । पर्यटनमन्त्री भट्टराईको यो पोस्टमा धेरैले ठिक्क भएछ भन्दै खुच्चिङ मात्रै भनेका छैनन्, भन्नै नमिल्ने थुप्रै गालीसमेत गरे ।

नेपाली समाजमा दुःख, बिमार र समस्या पर्दा शत्रुलाई समेत सान्त्वना दिने गरिन्छ । तर प्रधानमन्त्री, मन्त्री, नेता र उनीहरुका सहयोगीहरु बिरामी भएको थाहा पाएपछि छिटै निको होओस् भनेर कामना गर्नेहरु भन्दा खुच्चिङ भन्नेहरु धेरै हुन्छन् । नेताहरुप्रति यतिसम्मको वितृष्णा किन त रु उत्तर सजिलो छ – मत माग्ने बेलामा जस्तो काम गर्ने बेलामा उनीहरुले नागरिकको मन जित्न सकेनन् । आशा र आश्वासन मात्रै देखाए, आफ्नो प्रवृत्ति सुधार गर्न सकेनन् ।

न प्रधानमन्त्रीको कार्यशैली सन्तषोजनक छ, न उहाँका सल्लाहकारका सल्लाह चित्तबुझ्दो । न मन्त्रीहरुले भनेजस्तो गर्न सके, न सरकार चलाउने र विपक्षीमा रहेका नेताहरु हुनुपर्ने जस्ता भए । प्रधानमन्त्रीका कतिपय सल्लाहकार र नेताहरुका नसुहाउँदा अभिव्यक्ति र प्रतिक्रियाले पनि नागरिकको मनमा वितृष्णा बढाउन मलजल गरेको छ ।

स्वाभाविक वितृष्णा

एकाध केही काम र कार्यशैलीलाई छोड्ने हो भने सरकारले नागरिकको भावना र चाहनाअनुसार काम गर्नै सकेको छैन । स्थिर सरकारले जेजस्तो सेवा दिनुपर्ने हो, त्यो देखिएकै छैन । आँट र भिजन भएका प्रधानमन्त्रीबाट नागरिकले जे आशा गरेका थिए, त्यो पूरा हुने छाँट नै छैन । सरकार बाहिर छँदा के–के न गर्ला भन्ने आशा गरिएका नेता मन्त्रालय छिर्नेबित्तिकै त्यहाँको पुरानै ढर्रा र ढाँचामा अल्झिने गरेका छन् ।

गर्नुपर्ने काम एकातिर हुन्छ, प्रधानमन्त्री, मन्त्री र अरु जिम्मेवार नेताहरुको ध्यान अर्कैतिर हुन्छ । उदाहरण हेर्न टाढा जानै पर्दैन । हालसालकै घटनाक्रम हेर्दा प्रष्ट हुन्छ ।

कोरोना महामारीको यो बेला सरकारको मुख्य ध्यान रोग नियन्त्रण र रोकथाम तथा नागरिकको दैनिकी सहज बनाउन केन्द्रित हुनुपर्ने हो । तर कोरोनाको जोखिम बढिरहँदा प्रधानमन्त्री र उहाँको पार्टी नेकपा सत्ताको जोडघटाउमा बढी केन्द्रित देखियो ।

देश पूर्णरुपमा लकडाउनमा हुँदा नागरिक घरभित्रै थुनिए । काम र कमाइ रोकियो । खाने बाटो बन्द भयो । कतिका चुल्होमा आगो बलेन । रोग, भोक र शोकका कारण कतिपयले आत्महत्याको बाटो रोजे । सङ्कटको यो घडीमा सरकार र जिम्मेवार नेताहरुले अभिभावकको भूमिका निभाउन सक्नुपथ्र्यो । आमनागरिकलाई सरकार छ भन्ने अनुभूति दिलाउनुपथ्र्यो ।

तर कोरोना नियन्त्रण र रोकथामको काम गर्दै नागरिकलाई राहत र सान्त्वना दिनुको सट्टा सरकारको कार्यशैली पुरानै ढाँचा र ढर्रामा अल्झियो । कोरोना परीक्षणको दायरा बढाउने, सङ्क्रमितको उपचार व्यवस्थित बनाउने, आवश्यक पूर्वाधार बनाउने, विदेशमा दुःख पाएकालाई छिटो र सहज ढङ्गले स्वदेश ल्याउने, जनजीवन सहज बनाउने लगायतका प्रमुख आवश्यकताको कामलाई समेत सरकारले चुस्त र दुरुस्त बनाउन सकेन । प्रधानमन्त्री र सरकारलाई सल्लाह दिनकै लागि जागिर खाएकाहरुले समेत उपयुक्त र उचित सल्लाह दिन सकेनन् ।

यही बेला सत्तारुढ नेकपाका शीर्ष नेताहरु सत्ताको मोलतोलमा व्यस्त रहे । नागरिकले काम विशेषले समेत बाटोमा हिँड्न नपाउँदा नेताहरुलाई गुटउपगुटको छलफल र भेटघाटमा दौडधुप गर्न रोक लागेन ।

नेकपाका दुई अध्यक्षको पद हानथाप र कुर्सीको झिनाझम्टी अहिले केही शान्त भए पनि सत्तारुढ नेकपाका शीर्ष नेताहरु मन्त्रिपरिषद् पुनर्गठनको हरहिसाबमा व्यस्त छन् । लकडाउन र निषेधाज्ञापछि लयमा फर्कँदै गरेको जनजीवन र अर्थतन्त्र उकास्ने योजना बनाउन छाडेर मन्त्रीहरु पद जोगाउनतिर लागेका छन् । प्रधानमन्त्री आफूखुसी नियुक्ति र निर्णय गर्ने पुरानै प्रवृत्तिमा रमाइरहनुभएको छ ।

सरकारले महामारीको यो अवस्थामा नागरिकको पीर मर्कामा पटक्कै ध्यान दिन नसकेको तथ्य घामजत्तिकै छर्लङ्ग छ । आफ्नो जिम्मेवारी र दायित्वबाट सरकार पन्छिँदै गएको प्रष्टै देखिन्छ । समस्या पर्दा सरकार छ भन्ने अनुभूति नै नागरिकले गर्न पाएका छैनन् । अरुले नगरे पनि यसले त पक्कै गर्छ, पहिलेकोले नहेरे पनि अहिलेकोले त पक्कै हेर्छ भन्ने नागरिकको आशा पूरै निराशामा बदलिएको छ । सरकारले नगरे पनि यो पार्टीले त केही गर्छ, त्यो नेताले आफ्नो दुःख नदेखे पनि यो नेताले त पक्कै देख्छ भन्ने भरोसा नै टुटिसकेको छ । त्यसैले पनि नागरिकमा निराशा र वितृष्णा व्याप्त छ ।

प्रधानमन्त्री, मन्त्री र अरु नेताहरुका कार्यशैलीबाट नागरिक पहिलेदेखि नै दिक्दार छन् । यसअघि पनि बाढीपहिरो र अरु प्राकृतिक प्रकोपमा नागरिकले सरकारको भूमिका अनुभव गर्न पाएनन् । अझ यस्ता विपदमा आउने आर्थिक कोषमा भ्रष्टाचार र बेथिति भइरहेका खबर सुन्दा–सुन्दा नागरिक वाक्क, दिक्क भएका छन् । भ्रष्टाचार नियन्त्रण र पारदर्शिताको कुरा नारा र भाषणमा मात्रै सीमित छ ।

पहिले नौ महिना, वर्षदिनमा सरकार फेरिने अवस्थामा सुधार आएर पाँच वर्ष टिक्ने सरकार त बनेको छ । तर देशले स्थिर सरकार पाए पनि राजनीतिक दलभित्रका संरचना र नेताहरुका प्रवृत्ति सुधार हुन सकेको छैन । ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने आकर्षक नारा र योजना छन् तर कार्यान्वयन भएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै कुरा गर्दा उहाँबाट नागरिकले जे आशा र भरोसा गरेका थिए, त्यो सबै निराशामा परिणत भएको छ । उहाँका केही कार्यशैली र आफूखुसी निर्णय गर्ने प्रवृत्तिले आमनागरिक निराश छन् । प्रधानमन्त्रीलाई जनभावना विपरीतका काम नगर्न सल्लाह दिनुपर्ने सल्लाहकार उल्टै आलोचकलाई मुखभरीको गाली गर्न व्यस्त हुन्छन् । उनीहरुको प्रवृत्तिबाट झन् नागरिकमा आक्रोश बढाएको छ । त्यसैले प्रधानमन्त्रीका सल्लाहकारले मलाई कोरोना लाग्यो भनेर सार्वजनिक गर्दा र मन्त्रीले शीघ्र स्वास्थ्य लाभको कामना गर्दा पनि धेरैलाई सान्त्वना दिने मन छैन ।

अझै बिग्रिसकेको छैन

नागरिकलाई खुसी बनाउन धेरै र नसक्ने काम गर्नैपर्दैन, सक्ने र साना काम नै काफी हुन्छन् भन्ने त केही उदाहरण हेर्दैमा प्रष्ट हुन्छ । अलि पहिलेसम्म खाल्डाखुल्डी रहेको काठमाण्डौका सडकमा सामान्य मर्मत सम्भार हुनेबित्तिकै नागरिकले सरकारको प्रशंसा गरेकै हुन् । भारतले वर्षौँदेखि मिचेको भूमि समेटेर नक्सा तयार पार्दा नागरिकले एक मत भएर प्रधानमन्त्रीको जयजयकार गरेकै हुन् । पुरानै रेलमार्गमा नयाँ रेल कुदेको देखेर हर्षित भएकै हुन् । विमानस्थल, जलविद्युत् आयोजना, सडक निर्माण र मर्मत सम्भारलगायतका विकास निर्माणका कामले गति लिँदा पनि नागरिक खुसी भएकै हुन् ।

तर सरकार, सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र सत्तारुढ दलका केही कार्यशैलीले नागरिकका यी सबै खुशी र उत्साहलाई छायामा पारेको छ ।
अब पनि सरकारले गर्न सक्ने ठाउँ धेरै छन् । चाडपर्व आउन लाग्यो, कोरोनाको जोखिम र रोजीरोटीको समस्या उस्तै छ । तत्काल कोरोना नियन्त्रण गर्न असम्भव भए पनि टोलटोलमा यसबारे जनचेतना र सङ्क्रमितको सहज उपचार तथा व्यवस्थापन गर्न सकिन्छ । अनशनमा बसेका डाक्टर गोविन्द केसीका पुरानै माग सम्बोधन गर्न धेरै टाउको दुखाइरहनै पर्दैन । एसिड प्रहार गर्नेलाई कडा कानुनी व्यवस्था गरेजस्तै बलात्कारीलाई कारबाही गर्ने त्यस्तै कडा प्रावधान सार्वजनिक गरेमा मात्रै पनि धेरैको मन शान्त हुन्छ ।

‘अहिलेसम्म जे–जे भयो भयो, अब नागरिकको भावनाविपरीत नियुक्ति, निर्णय गर्दिनँ जति सकिन्छ राम्रो काम गरेर देखाउँछु’ भनेर प्रधानमन्त्रीले भने मात्रै पनि नागरिक खुशी हुन्छन् ।
प्रधानमन्त्रीको पाँच वर्षे कार्यकाल सकिन अब अढाई वर्ष पनि बाँकी छैन । यस अवधिमा उहाँले पहिले देखाएका सपना र आश्वासन त पूरा गर्न सक्नुहुन्न तर केही गर्दैछु भनेर नागरिकलाई महसुस दिलाउन सक्नुहुन्छ । सुखी नेपाली र समृद्ध नेपालको गोरेटोमा अल्झिएका झारपात र ढुङ्गामुढा पन्छाउन सक्नुहुन्छ । भ्रष्टाचार र बेथितिलाई व्यवहारमै नियन्त्रण गरेर देखाउन सक्नुहुन्छ ।

कोरोनाबाट थलिएको अर्थतन्त्र र नागरिकको दैनिकीलाई लयमा फर्काउन अरु धेरै काम गर्नै पर्दैन, बजेटमा भएका व्यवस्था कार्यान्वयन गरे मात्रै पुग्छ । विकास, निर्माण र जनजीविकाका ठूला आशा र आश्वासन देखाउनै पर्दैन, मात्र नागरिकमा निराशा र आक्रोश बढाउने निर्णय नगर्दा मात्रै पुग्छ । आफ्नो कारणले नागरिकमा निराशा बढेको सत्य बुझेका प्रधानमन्त्री, उहाँका सहयोगी र अरु नेताहरुले आफ्नो कार्यशैली सुधार्न सक्लान् त ? उज्यालो


ताजा समाचार