आजः आइतवार, कार्तिक ९, २०७७

दुधे बालकसँगको जंगल यात्रा

 

 

 

 

 

 

 

दैलेख : कर्णालीतिर अलि धेरै प्रयोग गरिने एउटा उखान छ, ‘सुख पाउनलाई भाग्य पनि चाहिन्छ’। आज त्यस्तै एक युवाको कथा प्रस्तुत छ – जसको कथा संघर्ष नै संघर्षले भरिएको छ। जुन युवाका लागि प्रेरणादायी हुन सक्छ।

दैलेख महाबु गाउँपालिका–५ साबिकको कासीकाँध गाविस–९ गडीगाउँमा ३६ वर्षअघि जन्मिएका नवीन रिजालसँग जनयुद्धका कहालिलाग्दा स्मृतिहरु ताजै छन्। उनीसँग अभावका कथाहरु छन्। सुन्दा लाग्छ खुसी उनको जीवनको शब्दकोशमै छैन। जनयुद्धमा पत्रकारिता सुरु गरेका उनी मृत्युको मुखबाट फर्किएका भाग्यमानी हुन्।

जन्मेको १३ दिनमा आमा गुमाएको कुरादेखि तत्कालीन जनयुद्धमा मरेर बाँचेको हरेक पल उनको दिमागमा घुमिरहन्छ।

 

युद्ध पत्रकारिता

२०५२ साल फागुन १ गते देखि तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धमा नवीन पनि सहभागी भए। माओवादी जनयुद्धको मध्यकालमा ५८ साल तिर माओवादीले गरिब सर्वहारा वर्गका लागि लगाएका नाराहरूमा नवीन आकर्षित हुदै युद्धमा होमिए।

६ वर्ष जनयुद्धमा बिताएका नवीनलाई मातृ बिहिन बाल्यकालका दिनभन्दा युद्धका दिनहरू झनै कष्टपूर्ण रहेको उनले बताए। युद्धमा होमिएका नवीनले पार्टी भित्रबाट युद्ध पत्रकारिता सुरु गरे उनले। ‘युद्ध पत्रकारिता गर्दै जाँदा युद्ध लडिरहेका माओवादीको पक्षमा समाचार सम्प्रेषण गर्न सहज थिएन। लिथो मेसिनबाट जङ्गलमा बसेर विभिन्न नामका पत्र–पत्रिकाहरू प्रकाशित गर्नुपर्थ्यो’, उनी भन्छन्।

तत्कालिन शाही सेनाले गरेका कारबाही र त्यसको प्रतिरोधमा स्थानीय बासिन्दाले चलाएका प्रतिरोधी संघर्षको समाचार सम्प्रेषण गर्नु उनको काम थियो। समाचार सम्प्रेषण क्रममा पिली आक्रमणमा गएका उनी दोहोरो भिडन्तमा बल्लबल्ल छलिएको सम्झँदै नाफाको जिन्दगी बाँचेको बताउँछन्।

शान्ति सम्झौतापछि पनि उनी मूलधारको पत्रकारितामा सक्रिय रहे। माओवादीबाट समाजमा रूपान्तरण भई अरू जस्तै पत्रकारिता गर्न उनलाई सहज भने भएन।असहजताका बाबजुद आफ्नो कर्म नछाडेका नवीन अहिले राष्ट्रिय समाचार समितिमा दैलेख प्रतिनिधि भएर काम गर्दै छन्।

 

  1. दुधे बालकसँगको जंगल यात्र

 

बालबालिका हुर्काउन एक युद्ध जितेसरह मानिन्छ। नवीनका छोरा राजन दुई वर्षको हुँदा आमाबाट बिछोडिनुपर्‍यो। उनका छोराले पनि आफ्ना बाबुले जस्तै बाल्यकालमा आमाबाट बिछोडिनुको पीडा भोगे।

छोरा र बाबुको कथामा भने केही फरक छ। नवीनले जन्मेको १३ दिनमा आमा गुमाएका थिए भने राजन आमा हुँदा–हुँदै मातृत्वविहीन भए। नवीन माओवादी युद्धमा लागेको भन्दै त्यसबेला सरकार पक्षले परिवारलाई डर, त्रास, धरपकड गर्न थालेपछि श्रीमतीले दुई वर्षको बालक छोडेर आफूबाट बिछोडिएको उनले बताए।

आमाले छोडेर गए पनि नवीन आफ्नो सन्तानबाट टाढा रहन सकेनन्। उनले एक अबोध बालकसँग ११ दिनको जंगल यात्रा गर्दै सरकारी पक्षको उपस्थिति हुन नसक्ने एक जनवादी शिक्षालय नामको बाल आश्रममा छोरालाई राखे। छोरालाई बाल आश्रममा छोडेर आफू पुनः युद्धमा फर्किए।

सेनाको यातना

२०६१ सालको अन्त्य तिर दैलेखको पश्चिम हालको आठबिस नगरपालिका क्षेत्रबाट सेनाले उनलाई नियन्त्रणमा लियो। सेनाले माओवादी भन्दै मरणासन्न हुने गरी कुटेर फालिदियो।

‘सेनाको यातनाबाट सख्त घाइते भएकाले अहिले शारीरिक तथा मानसिक समस्या यथावत् रहेको उनी बताउँछन्। यातनाबाट पिसाब थैली, स्मरण क्षमता, बोलाइ, कम्युटर हेर्न नमिल्ने, दाहिने कानको क्षमतालगायत समस्या छन्’, उनले भने, ‘अहिले पनि औषधि खाने गरेका छु।’

देशमा शान्ति आइसकेपछि पनि केही आपराधिक क्रियाकलाप गर्ने मनसायका व्यक्तिले वैद्य माओवादीको नाममा आक्रमण गरेको पीडा पनि उनीसँग छ। सबैबाट कुटाइ खाँदै आएका उनी यसपालि पनि ६ महिनासम्म उपचार गरेर बाँच्न सफल भए।

मेरुदण्डमा नराम्रो गरी चोट परेका कारण उनको शरीर चल्न सक्ने अवस्थामा थिएन। नेपालगन्ज हुँदै काठमाडौंको वीर अस्पतालमा ६ महिना उपचार गरेको कागज अहिले पनि उनीसँग प्रमाणको रूपमा छ।

परिवर्तन ल्याउन लडेकालाई सम्मान हैन अपमान

देशमा परिवर्तन ल्याउन ज्यानको बाजी थापेर मरेर बाँचेकालाई शान्ति प्रक्रिया पछिका सरकारहरूले सम्मानभन्दा पनि अपमान गरेको नवीनको दुखेसो छ। उनी भन्छन्, ‘यति ठूलो परिवर्तन ल्याउन सत्तामा रहेका र हाम्रो पनि उत्तिकै संघर्ष रह्यो, तर सँगै संघर्ष गरेका कोही सडकमा छन् कोही महलमा।’

शान्ति सम्झौताका १२ बुँदामध्ये द्वन्द्व व्यवस्थापन एक महत्त्वपूर्ण भए पनि व्यवस्थापनको नाममा सहिद, घाइते, अपांग, बेपत्ता, विस्थापित आदिलाई सरकारी पक्षले चासो दिनुपर्ने भए पनि केही नगरेको उनी बताउँछन्।

जनयुद्धका कारण केही उपलब्धि हासिल भए पनि मृत्यु युद्धमा लडेका हजारौँ जनता कहाँ छन्? के खान्छन्? स्वास्थ्य अवस्था कस्तो छ? नत युद्ध लडाउने पार्टीलाई थाहा छ, न गणतन्त्रको आफूलाई हकदार बताउने सरकारलाई थाहा, उनी गुनासो गर्छन्।

जनयुद्धका आह्वानकर्ताहरू धेरै पटक सत्तामा गए पनि पीडित प्रति संवेदनशील नहुँदा पीडितको आर्थिक, सामाजिक सुरक्षा, आत्मसम्मान नभएको उनले बताए। उनी भन्छन्, ‘पीडितहरूको पहिचान, सम्मान, मर्यादा नहुँदा समाजमा स्थापित हुन अहिले पनि सकस भएको छ।’

सरकारले विभेद नगरी पीडितको खोज अनुसन्धान गरी नातावाद कृपावाद नभनी वास्तविक पीडितको मुहारमा खुसी ल्याउनु पर्छ उनले भने। हिजो अधिकारका लागि लडेकाहरू अहिले अधिकारको खोजीमा भौंतारिनुपरेको बताए।

आवश्यकताअनुसार अधिकार दिने कुरामा सरकार लागेमा मात्र द्वन्द्वको दिगो समाधान हुने उनको तर्क छ। ‘कुन पीडितलाई कस्तो अधिकार दिने भनेर नीतिमै उल्लेख हुनुपर्दछ, राहत भनेको त केही समयको प्राविधिक कुरा समाधान गर्ने बहाना मात्र हो।’

जंगलदेखि विदेशसम्म छोराको यात्रा

जनयुद्धताका २ वर्षीय दूधे बालकसँगै भूमिगत हुनुपरेको नवीनको दुःखको कथा अहिले केही हदसम्म खुसीमा बदलिने तरखरमा छ।

तत्कालीन माओवादीले जन शिक्षालयको नाममा सञ्चालन गरेको बाल आश्रम हुँदै सहिद स्मृति आवासीय विद्यालय दाङबाट एसएलसी राम्रो श्रेणीमा उत्तीर्ण गरेर आइएस्सी पढ्न पोखरा गएका उनका छोरा राजन १३ सय निवेदकमा पनि छानिएर अहिले तान्जानिया पुगेका छन्।

 

‘मेरो आफ्नो दुःख त छँदै छ तर धेरै दुःख मध्ये केही खुसी हुने क्षण छोराको प्रगतिले गरेको छ। आशा छ छोराले विदेशमा उच्च शिक्षा पढेर पुनः नेपालमै आएर जनताको सेवा गरोस्’, नवीनले भने  साभार थाहा खबर


ताजा समाचार