आजः आइतवार, कार्तिक ९, २०७७

कोरोना संक्रमित मैले देखेको हाम्रो समाज

 

Menu

गृहपृष्ठ

समाचार

राजनीति

प्रदेश

सूचना/प्रविधि

जीवनशैली

मनोरञ्जन

 

 

 

 

 

डा. जीना सापकोटा  लेखिका

२०७७ सालको बैशाख महिनाको उच्च गर्मीसंगै कोरोना भाइरसका संक्रमितहरूको संख्याले पनि सिंढी चढिरहेको थियो । स्वास्थ्य सेवा कार्यालय अन्तर्गत जिल्ला अस्पतालमा कार्यरत चिकित्सक भएकोले मलाई कोभिड-१९ आइसोलेसन अस्पतालमा काम गर्ने जिम्मेवारी दिइएको थियो र टिममा हामी ५ जना सदस्य थियौं ।

म त्यहाँ रहँदासम्म हाम्रो आइसोलेसन वार्डमा ३५ जना भन्दा बढी संक्रमितहरू थपिइसकेका थिए । विश्वमा हरेक दिन संक्रमणको भयावह अवस्थालाई नियाल्दै कार्यरत हामी सबैमा डर, शंका र त्रास प्याप्त हुँदाहुँदै पनि आफ्नो जिम्मेवारी, कर्तव्य र चिकित्सा शिक्षाको कारण जिम्मेवारीबाट पञ्छिने अवस्था थिएन ।

एक दिन १४ दिनसम्म आइसोलेसनमा बसिसकेका मध्येबाट ८ जनाको स्वाब नमूना लियौं र जाँचका लागि प्रयोगशालामा पठायौं । ती पठाइएका नमूना मध्ये २ जनाको मात्र नतिजा नेगेटिभ आयो ।

अरू बाँकी ६ जनाले पुनः थप दिन आइसोलेसनमा नै बस्नुपर्ने बाध्यता भयो । ती नेगेटिभ हुने भाग्यमानी एक जना महिला र उनको बालक थिए । १६ महिनाको दुधे बालक भएकाले उनीसंगै थियो तर उसलाई संक्रमण थिएन ।

आइसोलेसनमा उपचार पश्चात् सुरक्षित रूपमा घर पठाउन लागिएको पहिलो बिरामी भएका कारण पनि हामी अत्यन्त खुशी र उत्साहित थियौं र उनीहरूलाई पनि सम्मानपूर्वक विदाइ गरी घर पठाउने विचार गर्‍यौं ।

अर्को दिन बिहान स्थानीय सञ्चार माध्यम, सामाजिक कार्यकर्ता र स्थानीय नेताहरू सबै जम्मा भइसकेका थिए । एक समारोहका बीच सबैका सामुन्ने हामीले उनीहरूको विदाइ गर्‍यौं । उनीहरूलाई हामीसंगै बसालेर संगै खाना पनि खायौं ।

हामी असाध्यै हौसिएका थियौं । खाना खाइसकेपछि हामीले तत्कालै डुंगेश्वर गाउँपालिकाका अध्यक्षज्यूलाई फोन गर्‍यौं र “उनीहरूलाई घरसम्म पुर्‍याउनका लागि कतै अटो पाउनु भयो भने पठाइदिनु होला” भनी वहाँलाई अनुरोध गर्‍यौं । २ घण्टासम्म कुर्दा पनि अटो नआए पछि पुनः फोन गर्‍यौं ।

केही छिन पछि तिनै निको भएर घर फर्कन लागेकी महिलाका एक छिमेकीले आएर भन्नु भने- “एउटा अटो पाएका थियौं तर उसले मेरो अटोमा कोरोना भएका मान्छे राख्न त के छुन पनि दिन्न । बरू जेल जान तयार छु । उनीहरूलाई त कुनै हालतमा राख्दिन भन्यो । उसले मेरो कुरै सुनेन । हामीले उसलाई उनीहरू कोरोना उपचार भई निको भएका मान्छे हुन् भन्दा पनि लैजान ठाडै अस्वीकार गर्‍यो ।”

हामीले पुनः गाउँपालिका अध्यक्षलाई फोन लगायौं । वहाँले पनि बरू त्यो अटो चालकलार्इ गिरफ्तार गर्छु भन्नु भयो तर उक्त परिवारलाई घरसम्म पुर्‍याउने कुरै गर्नुभएन । यस बीचमा हामीले कयौं मानिसलाई फोन गर्‍यौं तर कसैले पनि उनलाई घरसम्म पुर्‍याउन तयार भएनन् । १६ महिनाको दुधे बालक भएकी उक्त महिलालाई एक्लै पठाउन पनि सकेनौं ।

बिहान १०:०० बजे डिस्चार्ज भएका उनीहरू सवारी साधनलाई कुर्दाकुर्दै दिउँसोको ३:०० बजिसकेको थियो । साँझसम्म पनि हामीसंग हिंड्नु बाहेक कुनै पनि अर्को विकल्प रहेन । संयोगवस अस्पतालकै अरू बिरामी सुर्खेत पुर्‍याएर फर्केको एम्बुलेन्स पनि आइपुग्यो र हामीले उनीहरूलाई त्यही एम्बुलेन्समा राखेर घर पुर्‍याउन सफल भयौं ।

जाने बेलामा ती महिलालाई “केही अप्ठ्यारो परेमा जुनसुकै बेला पनि फोन गर्नुहोला है ।” भनेर मेरो मोबाइल नम्बर दिएकी थिएँ । अहिलेसम्म मलाई उनको कुनै पनि फोन आएको छैन । म सोचिरहन्छु- आजकल उनको जीवन कसरी चलेको होला? उनले अझैं पनि सामाजिक विभेदको सामना गरिरहेकी होलिन् कि नाइँ ?

 

 

 

 


ताजा समाचार