आजः आइतवार, कार्तिक ९, २०७७

सात वटा केबलकारसहित पर्यटकीय गन्तव्य विकास गर्दै चन्द्र ढकाल

 

 

 

 

 

काठमाडौं, असोज ३

चन्द्र ढकाल पछिल्ला वर्षहरूमा सम्भवत: सबैभन्दा आक्रामक रूपमा व्यवसाय विस्तार गर्दै गरेका व्यवसायीको नाम हो।

धेरैखाले व्यवसायमा सफलता पाएका ढकालले पछिल्लो पटक हात हालेको क्षेत्र हो- पर्यटकीय गन्तव्यको निर्माण।

पर्यटनसँग उनको नाता भने धेरै अघिको हो। उनलाई घरघरमा चिनाउने आइएमईभन्दा पनि अघिको। उनले व्यावसायिक जीवनको सुरूतिरै ट्राभल एजेन्सी खोलेका थिए। जुन अहिले पनि छ

पर्यटन गन्तव्यको निर्माण गर्ने काम भने चन्द्रागिरी केवल कारबाट सुरू भयो। चन्द्रागिरीलाई ढकालले काठमाडौंमा घुम्न जानै पर्ने पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरे।

केबलकार भनेर चिन्ने गरे पनि यो एउटा पर्यटकीय गन्तव्य हो। नेपालमा निजी क्षेत्रले गन्तव्य बनाउन खासै लगानी गरेको छैन। प्रकृतिले दिएका सगरमाथालगायत हिमाल, ताल तथा वन्यजन्तुबाहेक लगानी तथा सिर्जनशीलताबाट स्थापित भएका वा ‘भ्यालु एड’ भएका त्यस्ता

गन्तव्यको खडेरी नेपालमा छ। सबैलाई एकै ठाउँमा आकर्षिक गर्नका लागि एउटा गन्तव्यको विकास गर्न खोजिएको ढकालको भनाइ छ।

मनकामना केबलकारले पनि मनकामनामा धेरै पर्यटक लगेको छ। तर केबलकार नहुँदा पनि मनकामना जाने मानिसको घुँइचो लाग्थ्यो।

चन्द्रागिरीमा भने केबलकारले नै मानिसलाई तान्न थालेको हो। पहिलो पटक काठमाडौं आएका र काठमाडौंमै भएकालाई पनि घुम्न जान मिल्ने एउटा रमाइलो गन्तव्य चन्द्रागिरी बनेकोमा ढकाल सन्तोष मान्छन्।

‘अहिले सबै विदेशी भिभिआइपी चन्द्रागिरी जाने वातावरण बनेको छ। अन्तर्राष्ट्रिय इभेन्टहरू पनि हुने क्रममा छन्। काठमाडौं आउने हरेक नेपाली पनि चन्द्रागिरी जाने योजना बनाउँछन्,’ उनले भने।

चन्द्रागिरीको सफलासँगै ढकालले देशैभर यस्तै परियोजना निर्माण गर्ने योजना बनाएका छन्। ढकाल देशका सातै प्रदेशमा केबलकारसहितका गन्तव्य बनाउने अभियानमा छन्।

गैंडाकोट, पोखराको सिकलेस, बुटवल, प्युठानको स्वर्गद्वारी र कर्णाली चिसापानीको राजडाँडामा केबलकारसहितको गन्तव्य बनाउने योजनामा उनी अघि बढेका छन्। सुदूरपश्चिम र दुई नम्बर प्रदेशमा ठाउँ निश्चित भएको छैन।

कोरोना कहर नभएको भए गैंडाकोटको योजना अहिलेसम्म सुरू भइसक्थ्यो। त्यहाँ सबै प्रक्रिया सकिएर निर्माणमा जान तयार भइसकेको छ।

त्यस्तै पोखरा, बुटवलमा उनको प्रारम्भिक प्रक्रिया सकिएको छ, अरू ठाउँमा गन्तव्य छानिइसकेको छ, कागजी काम हुँदै छ।

कोरोना कारण यी सबै आयोजना लगभग एक-दुई वर्षपछि धकेलिने छन्। यद्यपी उनले आफू पुग्ने गन्तव्य छाडेका छैनन्।

‘अबको पाँच वर्षपछि काठमाडौंबाहिर नै आधा दर्जन बढी पर्यटकीय गन्तव्य विस्तार गरिनसक्ने योजनामा हामी दृढ छौं,’ उनले भने।

यसरी बन्ने प्रत्येक गन्तव्यमा चन्द्रागिरीका जस्तै पूर्वाधार हुनेछन्। केबलकार, होटल, रेष्टुरा, हल तथा अन्य मनोरञ्जन हुने गतिविधि हुने छन्।

योजनाको प्रकृति चन्द्रागिरीजस्तै भए पनि यसमा लगानीको मोडालिटी भने फरक हुने ढकालको भनाइ छ।

‘गैंडाकोटमा स्थानीय पार्टनर छन्। हरेक ठाउँमा यस्तै हुन्छ। यसो हुँदा स्थानीय स्वामित्व र अपनत्व पनि स्थापित हुन्छ,’ उनले भने ‘अर्कोतिर प्रतिफल सेयरिङ पनि हुन्छ।’

यी परियोजनाको विकास गर्न स्थानीय साझेदार पनि इच्छाशक्ति भएको हुनुपर्ने उनको भनाइ छ। सबै कम्पनीलाई सार्वजनिक कम्पनीको मोडालिटीमा सञ्चालन गर्दै लगिने पनि उनले बताए।

काठमाडौं बाहिरका प्रत्येकको परियोजनामा एक अर्ब लगानी हुने छ।

‘ठाउँ तथा आवश्यकता हेरी कम-बेसी होला,’ उनले भने। काठमाडौंको चन्द्रागिरी भने ५ अर्ब लगातमा बनेको हो।

नयाँ पर्यटकीय गन्तव्य स्थापना गर्ने योजनाले तत्काल प्रतिफल नदिने र यस्ता योजना दीर्घकालीन प्रकृतिका हुने ढकाल बताउँछन्।

‘तुरून्तै नाफा गर्ने भए म व्यापारमा जान्थें होला। यो भनेको दीर्घकालीन हो,’ उनले भने, ‘व्यवसाय र नाफामात्र लक्ष्य भए १० जना मान्छे राखेर व्यापार गरे अर्को वर्षदेखि खनखन नाफा आइहाल्छ।’

पर्यटकीय पूर्वाधार बनाउँदा यसको लाभ देश र समाजले पनि पाउने उनले बताए।

‘लगानीका हिसाबले केही प्रतिफल हामीलाई पनि आउँछ नै तर रोजगारी, आम्दानी र राजश्वका रूपमा यसले मुलुकलाई ठूलो टेवा पुग्छ,’ उनले भने।

अहिल नै आइएमई र डिसहोमजस्ता ब्रान्डबाट आम मानिससँग जोडिएका ढकाललाई सातै प्रदेशमा बन्ने केबलकारले उनीहरूसँग झनै नजिक बनाउने छ।

सरकार आफैंले देशभर गन्तव्य विकास गर्ने भनेर लगानी गरिरहेको छ। ढकाल यस्तोमा सामुदायिक लगानी गरेर सरकारी योजनालाई पनि साथ पुग्ने विश्वास गर्छन्।

यी गन्तव्य विकासबाट आम मानिसको खुसीसँग जोडिन पाउने ढकाल बताउँछन्।

‘यस्ता गन्तव्यबाट मानिसहरूमा थपिने ‘ह्यापिनेस’ र त्यसबाट मानिसले काम गर्ने प्राप्त गर्ने जाँगरले सामाजलाई ठूलो लाभ पुग्छ,’ उनले भने।

अनि यी परियोजनाले उनलाई ‘केबलकार किङ’ को अर्को परिचय पनि दिनेछ।

त्यसो त ढकाललाई व्यवसायीका रूपमा कुनै परिचयको खाँचो छैन। पछिल्ला २० वर्षमा उनले द्रुतगतिमा सफल व्यवसायको साम्राज्य खडा गरेका छन्।

रेमिट्यान्सको एजेन्सीबाट सुरू भएको ढकालको व्यावसायिक साम्राज्य आज वित्तीय क्षेत्रका हरेक पाटोमा फैलिएको छ। रेमिट्यान्स हुँदै फाइनान्स कम्पनी, त्यसबाट वाणिज्य बैंक, बीमा हुँदै अन्य विविध क्षेत्रमा उनको व्यवसाय फैलिएको छ।

पारिवारिक व्यावसायिक विरासत नभएका ढकाल यो साम्राज्य गएको २० वर्षमा आफैं फैलाएका हुन्।

वित्तीय संस्थामा आइएमई पे डिजिटल वालेटसम्म फैलिएको छ। वित्तीय क्षेत्रमा यति धेरै सफलता हात पारेका ढकालको जागिर वित्तीय संस्थाबाट सुरू भए पनि व्यवसाय भने कार्गोबाट सुरू भएको थियो।

बैंकको जागिर नै ढकालका लागि व्यावसायिक यात्राको सुरूवाती विन्दु भयो। धेरैले जस्तै जागिर पाउनु सर्वस्व ठानेका ढकालले जागिरकै बीचबाट व्यावसायिक यात्रा सुरू गरे।

‘अरूजस्तै मेरा लागि त्यतिबेला जागिर बाध्यता थियो। घरको एकल दायित्व बोक्नुपर्ने बाध्यताबीच मैले जागिर सुरू गरेको थिएँ,’ ढकाल भन्छन्।

२०४५ सालमा राष्ट्रिय वाणिज्य बैंकमा जागिर खाएका ढकालले उक्त जागिरबाट बनेको सम्बन्धलाई मनिटाइज गरे। अर्थात् उनले त्यहाँको सम्बन्धलाई उपयोग गर्दै सहयोगी व्यापार सुरू गरे। त्यहीँबाट ढकाल व्यापारी बने यद्यपी उनले जागिर भने छाडेका थिएनन्। त्यसभन्दा पहिले उनले कोल्ड स्टोरको व्यवसाय पनि गरेका थिए।

त्यतिबेला सीमित बैंक थिए। त्यस्तोमा नेपालमा कार्पेट तथा गार्मेन्ट उद्योग फस्टाएको थियो।

विदेशमा धेरै निर्यात हुन्थ्यो। त्यस्ता व्यवसायीहरू बैंकमा आउजाउ गर्ने नै भए। त्यसरी आउँदा जाँदा उनीहरूसँग ढकालको सम्बन्ध भयो। जागिर सुरू भएको ३ वर्षमै उनले कार्गो खोले।

‘मलाई त्यो बेलाको सम्बन्धले सोचमा परिवर्तन ल्यायो। अनि कार्गो स्थापना गरियो’ उनले भने।

कार्गो खोलेसँगै ट्राभल, कोल्ड स्टोरलगायतका व्यापार व्यवासाय सुरू गरे। तर पनि उनको मुख्य व्यवसाय कार्गो नै थियो।

जब सन् २००१ पछि नेपालमा गार्मेन्टको निकासी खुम्चिन थाल्यो, गार्मेन्टसँग जोडिएका कैयौं व्यापारी कंगाल भए। कति कालोसूचीमा परे। ढकालले समस्यामा अवसर देखे। व्यापारलाई नयाँ मोड दिए।

आयात-निर्यातको काम गर्ने, ट्राभल एजेन्सी तथा मनी एक्सचेन्जको काम गर्ने सहयोगी व्यापार पनि गरिरहेका ढकालले सन् २००२ मा नेपालमा औपचारिक रूपमा विदेशबाट पैसा पठाउने रेमिट्यान्स कम्पनी आइएमई स्थापना गरे। नेपालबाट भर्खर मान्छेहरू वैदेशिक रोजगारीमा धेरै संख्यामा जान थालेका थिए।

बैंकिङ माध्यमबाट पठाउँदा ढिला र झन्झट हुने र हुन्डीबाट ठगिने अवस्थाबाट जानकार ढकालले रेमिट्यान्स कम्पनीप्रति नेपालीहरू आकर्षित हुने ठाने।

‘मलेसियाबाट औपचारिक रूपमा सुरू गर्नपर्‍यो भनेर हामी आफैंले राष्ट्र बैंकमा पहल गर्‍यौं। त्यो प्रयासलाई कसैले पनि सफल हुन्छ भनिरहेका थिएनन्। सरकारमा रहेका मान्छेदेखि सबै शुभचिन्तकको एउटै धारणा थियो कि यसले डुबाउने भयो,’ उनले भने।

आज आइएमई रेमिट्यायन्सको पर्यायवाचीमात्र होइन स्वंय ढकाकललाई चिनाउने ब्रान्ड पनि बनेको छ।

२००२ मा आइएमई स्थापना भएपछि ढकालले व्यावसायिक यात्रामा पछि फर्कनु परेको छैन। यो समयमा उनले वित्तीय क्षेत्रमा आफ्नै इकोसिस्टम बनाएका छन्।

ढकाल एकको आवश्यकताले अर्को जन्माउँदै गएको र इमान्दार प्रयासबाट प्रतिफल पनि प्राप्त हुँदै गएको बताउँछन्।

२००२ मा आइएमइ स्थापना गरेपछि त्यसले राम्रो बजार लियो। आफैं विस्तार हुँदै पनि गयो। पैसा राख्न र विदेशी मुद्राको सञ्चयका लागि अरूकै वित्तीय संस्थामा निर्भर हुनुपर्ने अवस्था थियो।

त्यसलाई सम्बोधन गर्न ढकालले आइएमइ फाइनान्स स्थापना गरे। फाइनान्स कम्पनीका पनि सीमा थिए। त्यसबाट पनि उनलाई नपुगेपछि वाणिज्य बैंक स्थापना भयो।

आजका दिनमा वाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, रेमिट्यान्स, डिजिटल वालेटजस्ता व्यवसायमा आएएमईको उपस्थिति छ।

आइएमई यति धेरै लोकप्रिय भयो कि नेपालका आम जनतासँग जोडिने सेवा भयो। यसले ढकाललाई आम जनातामा व्यवसायीका रूपमा परिचित गरायो। त्यस्तै बैंकबाट उनलाई कर्पोरेट क्षेत्रमा सम्बन्ध विस्तार गरिदियो।

ढकाललाई देशभर व्यावसायिक नेटवर्क बलियो र राम्रो भएको व्यक्तिमा रूपमा लिइन्छ। यतिमात्र होइन उनको आम जनतामा जोडिने अर्को व्यवसाय पनि छ- डिसहोम। ढकाल डिसहोमका प्रवर्द्धकमध्येका हुन्।

यी सबै व्यवसायमा ढकालका भाइ हेमराज ढकालको पनि उत्तिकै साथ छ। उनी अहिले डिसहोम हेर्छन्।

पछिल्लो पटक केबलकारसहित पर्यटन गन्तव्य निर्माणमा उनले ल्याएको आक्रामक योजना सफल भए उनको उनी पर्यटन व्यवसायका पनि हस्तीको रूपमा स्थापित हुनेछन्।

 

 

 


ताजा समाचार