आजः आइतवार, कार्तिक ९, २०७७

सेनेटरी प्याड खरिदमा कमिशन भन्ने समाचार गलत भन्छ नगरपालिका, प्रशासनले माग्याे जवाफ (भिडियाे सहित)

विद्यालयकै सहमतीमा सहजीकरण गरिएको नारायण नगरपालिकाका शिक्षा शाखा प्रमुख हिमालयजंग शाहकाे भनाइ

दैलेख

सेनिटरी प्याड खरिदमा कमिशनकाे खेल भएकाे समाचार सत्य नभएकाे दैलेखकाे नारायण नगरपालिकाले स्पष्टिकरण दिएकाे छ । नगरपालिकामा रहेका १७ वटा सामुदायिक विद्यालयका किशाेरीहरूका लागि सेनेटरी प्याड खरीदका लागि सहजीकरण मात्र गरिएको नारायण नगरपालिकाले जानकारी दिएको छ ।

नगरभित्रका १७ वटा सामुदायिक विधालयका लागि उपलब्ध गराउनु पर्ने सेनिटरी प्याड विद्यालयकै सहमतीमा सहजीकरण गरिएको नारायण नगरपालिकाका शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले बताए । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि उपलब्ध गराउने सेनेटरी प्याड खरिदमा विवाद उत्पन्न भएपछि सोमवार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले सहजीकरण गर्न खोजीएको कुरालाई फरक अर्थ लगाउन खोजीएको भन्दै आपत्ती जनाएको छ ।

सेनेटरी प्याड उपलब्ध गराउन नारायण नगरपालिका दैलेखमा २१ लाख ७९ हजार रकम अाएको र लकडाउनका कारण समयमै टेन्डर हुन नसक्दा आएको बजेट फ्रिज जाने भएपछि ति सामुदायिक विधालयको बैंक खातामै रकम जम्मा गरेको शाहले जानकारी दिए । उनका अनुसार सो रकम नारायण नगरपालिका दैलेखका उप प्रमुख सावित्री मल्लको संयोजकत्वमा रहेको नौ सदस्यीय समितिले विद्यालयको खातामा रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

सेनिटरी प्याड खरीदका लागि विद्यालयको खातामा रकम गएपछि ति विद्यालयका प्रधानाध्यापकहरुले नै सहजीकरण गरिदिन भनेपछि सहजीकरण गर्दा अहिले नगरपालिका नै दोषी देखिनुपर्ने अवस्था आएको शिक्षा शाखा प्रमुख शाहले दुखेसो गरेका छन् । उता जिल्ला प्रशासन कार्यालय दैलेखले नगरपालिकालाइ २४ घण्टे पत्र काटेको छ। कोटेसन खोलेर प्रतिस्पर्धाका आधारमा खरिद गर्नुपर्ने सेनिटरी प्याड कमिसनको लोभमा कोटेसन प्रकाशन नगरी सीधै खरिद गरेको बारे जिल्ला प्रशासन कार्यालयले २४ घण्टाभित्र प्रमाणसहित लिखित जवाफ माग गरेको छ।

जिल्ला प्रशासन कार्यालय दैलेखले अनुसन्धान अधिकृत समेत तोकेर छानबिन गर्ने भएको छ। अनियमितता प्रकरणबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएसँगै निश्पक्ष छानबिन गर्नुपर्ने भन्दै नेपाल शिक्षक संघ नगर कार्यसमिति जिल्ला शाखा दैलेखले प्रशासन कार्यालय दैलेखमा लिखित निवेदन दर्ता गरेको थियो।

पत्रकार सम्मलेनमा के भयाे हर्नुहाेस भिडियाेमाः


ताजा समाचार