आजः मङ्लबार, साउन २७, २०७७

दैलेखमा पनि ठूलो संख्यामा देखियाे सलह, किसान चिन्तित

कर्णालीका नौं जिल्लामा सलह देखियाे

दैलेख
कर्णाली प्रदेशका विभिन्न स्थानमा देखिएको सलह दैलेखमा पनि ठूलो संख्यामा देखिएको छ। शनिबार दुल्लू नगरपालिका, नारायण नगरपालिका, भगवतीमाइ गाउँपालिका लगाएत जिल्लाकाे विभिन्न ठाउँमा पसेको छ । ठूलो संख्यामा सलह पसेपछि कृषकहरु थाल बजाउँदै, आगो बाल्दै खेतबारीमा पुगेका छन् ।सलह ठूलो संख्यामा आएकाले थाली र ड्रम बजाएर सलह भगाउन कृषिविदहरूले कृषकलाई आग्रह गरेका छन् । ठूलो संख्यामा सलह देखिएकोले नियन्त्रण गर्न विषादी प्रयोग गर्नुपर्ने भए पनि यो उपयुक्त समय नभएको उनिहरूको भनाइ छ । अहिले मकै र धानको हुने भएकाले सलह किराको जोखिम त्यसमा बढ्न सक्ने अनुमान गरिएको छ ।

कृषि मन्त्रालयका अनुसार कर्णाली प्रदेशका नौं जिल्लामा सलह देखिएको छ । प्रदेशका १० जिल्लामध्ये मुगुमा हालसम्म नदेखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कृषि विज्ञ हरि पण्डितका अनुसार दाङ हुँदै सलह कर्णालीका विभिन्न जिल्ला पसेको हो । सलह किराले मकै, धानको बिउ र तरकारी नष्ट गर्न थालेपछि किसान समस्यामा परेका छन् । सलह बारीमा पसेपछि बाली बचाउन हम्मेहम्मे परेको किसानहरूले बताएका छन् । बाली र तरकारी बचाउन किसानले पहरा दिन थालेका छन् । ‘कतै बाली लगाएको ठाउँमा आगो लगाएका छन् भने केही ठाउँमा थाल र टिन बजाएर धपाउने गरेका छन् ।

कर्णाली प्रदेशमा सलह किराको प्रवेशसँगै किसानले ठूलो क्षति बेहोर्नुपर्ने प्रदेश सरकारले अनुमान गरेको छ । सामान्य अवस्थामै खाद्य संकट भोग्दै आएको कर्णालीमा यो वर्ष भने कोरोनाको महामारी र सलहले गर्दा भोकमारी नै पर्ने हो कि भन्ने डर भएको कर्णाली सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् । सलहले क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने तयारीसमेत भैरहेको मन्त्री केसीको भनाइ छ । ‘सलहले क्षति पुगेका किसानलाई राहात दिने विषयमा छलफल भैरहेकोे छ,’ मन्त्री केसीले भनिन, ‘हामी एउटा विशेष टिम नै बनाएर फिल्डमा पठाउँछौं । क्षतिको आधारमा केही राहतको व्यवस्था गर्छौं ।’


ताजा समाचार