आजः बुधबार, असार ३१, २०७७

नेपथ्य साँझबाट उठेको पैसाबाट दोलखामा स्कुल भवन निर्माण

फागुन ७, २०७६
काठमाडौं : नेपथ्यको कन्सर्ट जानुका पछाडि दर्शकको एउटै उद्देश्य हुने गर्छ आफ्नो प्रिय लोकरक ब्याण्डको संगीत सुनेर रमाउनु हो । तर, आगामी फागुन १७ गते काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने कन्सर्टका सहभागीले नेपथ्यसँग रमाइलो मात्र गर्ने छैनन्। बरु, भूकम्पले भत्किएपछि अहिलेसम्मै निर्माणाधीन अवस्थामा रहेको दोलखाको एउटा सरकारी स्कुल त्यही टिकटको पैसाले उभिने छ।

सम्पूर्ण रकम विद्यालय निर्माणमा समर्पित गरिने यस कन्सर्टलाई ‘शिक्षाको लागि संगीत’ नाम दिइएको छ। नेपालीलाई परोपकारका निम्ति प्रेरित गर्दैआएको ‘हेल्प नेपाल नेटवर्क’ सँग मिलेर गर्न लागिएको त्यस कन्सर्टबाट उठेको रकम भिमेश्वर नगरपालिका २ स्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको भवन निर्माणार्थ उपयोग गरिने छ।

२०७२ सालको विनाशकारी महाभूकम्पका बेला नेपथ्य ब्याण्डले प्रधानमन्त्री राहतकोषमा दुईपटक गरेर सोझै दस लाख रुपैयाँ र विदेशका केहि कन्सर्टहरूबाट उठेको रकमसमेत उतैबाट समर्पित गरेर झण्डै चालिस लाख रुपैयाँको योगदान दिएको थियो। त्यसैको निरन्तरता यो कन्सर्ट पनि भएको जानकारी ब्याण्डको व्यवस्थापन गर्दैआएका किरणकृष्ण श्रेष्ठले दिएका छन्।

ब्याण्डले भुकम्पलगत्तै अष्ट्रेलियाको मेलबर्न, जापानको टोकियो र संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित कन्सर्टबाट उठेको रकमलाई भुकम्प पीडितहरुकै सहयोगार्थ समर्पित गरेको थियो।

‘संगीतले जगतलाई आत्मा, सोचाइलाई पखेटा, कल्पनाहरुलाई उडान र प्रत्येक कुरालाई जीवन्तता प्रदान गर्छ भन्ने भनाइ नै छ,’ हेल्प नेपाल नेटवर्कका निर्देशक रोशेन्द्रध्वज खड्का भन्छन्, ‘हामीसँगको सहकार्यमा नेपथ्यको आगामी कन्सर्टले केटाकेटीको सपनालाई पखेटा, ती साना आत्माहरुलाई आशा र दोलखालाई जीवन्तता प्रदान गर्नेभएको छ।’

पूर्णतया स्वयंसेवाको भावले चलेको ‘हेल्प नेपाल नेटवर्क’ नेपालकै वृहद्मध्येको परोपकारी संस्था हो। मुलुकको ग्रामीण भेगमा स्वास्थ्य, शिक्षा र दैवीप्रकोपका क्षेत्रमा यस संस्थाले आफूलाई संलग्न गराउँदै आएको छ।


ताजा समाचार