26 February 2020|   बुधबार, फाल्गुन १४, २०७६

पृथ्वी नारायण शाहले चाख्न नपाएको त्यो आलु

Online Karnali
प्रकाशित मितिः सोमवार, अशोज ६, २०७६       |  

किरण बाबु श्रेष्ठ

हिजोअस्तिको काठमाडौं

नेवार खानाको पारखी बताउने एक मित्रले आलु-अचार, आलु-तामा लगायत परिकारको खुब स्वादसँग बयान गरे। उनी शाकाहारी भएकाले राँगाका परिकारको कुरा उठेन। जबकि, मेरो लागि राँगाका खानेकुराविना नेवार परिकार अपूर्ण हुन्छ। शाकाहारी खानाको लामो स्वादिलो बयान सुनेपछि मैले सोधेँ, ‘आलुका यी परिकार नेवारी नै हुन् त?’

उनले निर्धक्क जवाफ दिए, ‘पक्का हो।’

हाम्रो यो कुराकानी येँया पुन्ही, अर्थात् इन्द्रजात्राको सेरोफेरोमा भएको थियो। त्यही भएर मैले इतिहासबारे धेरै सुनेको र थोरै पढेको कुराबाट सन्दर्भ कोट्याएँ, ‘पृथ्वीनारायण शाहले काठमाडौं कब्जामा लिएपछि नेवार सभ्यतामा गोर्खाली राज हाबी भयो। त्यसपछि नेवार सभ्यता एउटा समुदायमा गएर खुम्चियो। त्योभन्दा पहिले काठमाडौं उपत्यकामा बस्ने प्राय: सबै नेवार सभ्यताका अंग थिए। गोर्खाली राज सुरू भएपछि नेवार समुदायमा रूपान्तरण भए। त्यसै बेलादेखि नेवार सभ्यताको विकासक्रम रोकियो। अहिले जे बाँकी छ, त्यो संकुचित हुँदै गएको नेवार सभ्यताको अवशेष मात्र हो।’

‘कहाँ हुनु? नेवार संस्कृति अहिलेसम्म जीवन्त छ। हामी भक्तपुरको बिस्कादेखि पाटनको मच्छिन्द्रनाथ र काठमाडौंको येँया पुन्ही सबै मनाइरहेकै छौं। नेवार भाषा पनि बोलेकै सुनिन्छ। नेवार खानाको लोकप्रियता छँदैछ। कसरी नेवार संस्कृति संकुचित भयो भन्ने?’ उताबाट प्रतिवाद आयो।

त्यो वार्तालाप हतारमा भएको थियो। त्यसैले कुनै निष्कर्षविनै टुंगियो। तर, यही कुराले केही दिन मेरो दिमागमा स्थान बनाइरह्यो। त्यही कुरा म यहाँ राख्दैछु।

सुरु गरौं मैले माथि सोधेको प्रश्नबाट- के आलुका परिकार नेवार खाना हुन्?

मेरो यो प्रश्नको आसय त्यसै अत्तो थाप्नु होइन। नेपालमा आलुको इतिहास सन् १७९३ मा मात्र जोडिएको पाइन्छ। गोर्खाली फौजले काठमाडौँ जितेको सन् १७६८ मा हो। त्यसै वर्ष उनीहरूले ललितपुर जिते र १७६९ मा भक्तपुर जिते।

गोर्खाली राजाले काठमाडौं उपत्यका जितेपछि नेवार सभ्यताअन्तर्गत रहेर राज्य गरेनन्। किराँतपछिका लिच्छवि र मल्ल वंशले नेवार सभ्यतालाई अझै बलियो पार्दै त्यसमा धार्मिक, सांस्कृतिक र पुरातात्विक धरोहरहरू थपे। यसले नेवार सभ्यता थप विकसित र परिस्कृत भयो। गोर्खाली राजा पृथ्वीनारायण शाहले भने उपत्यका जितेपछि नेवार सभ्यतालाई एउटा जातमा खुम्च्याए र आफू गोर्खाली राजा बने।

यसको मतलब, किराँत हुँदै लिच्छवि र मल्ल राजाले नेवार सभ्यतामा थपेका इँटामा गोर्खाली राजाहरूले रजाइँ त गरे, तर नयाँ इँटा थपेनन्। यसको साधारण पुष्टि गोर्खाली राजाको रजाइँपछि उपत्यकामा थपिएका वास्तुकलाका नमूनाको सूची हेरे हुन्छ।

किराँतको पालामा सुरु भई लिच्छवि हुँदै मल्लकालमा उत्कर्षमा पुगेको नेवार सभ्यताको विकास १७६८ मा गोर्खा राजाको आगमनसँगै बन्द भयो। त्यसपछि नेवार सभ्यता एउटा समुदायमा सीमित भयो। यो सभ्यता र यसमा जीवित परम्परा, संस्कृति खुम्चिँदै गयो। अहिले जे बचेको छ, त्यसलाई यसको भाग्नावशेष भन्दा हुन्छ।

नेपालसँग सम्बन्धित आलुको ऐतिहासिक तथ्यले के पुष्टि गर्छ भने, नेपालमा आलुको आगमन हुँदा नेवार सभ्यताको विकासक्रम अन्त्य भइसकेको थियो। तसर्थ, तत्कालीन काठमाडौं राज्यका अन्तिम राजाले आलुको स्वाद लिन पाएका थिएनन्। सन् १७७५ मा दिवंगत भएका गोर्खाली राजा पृथ्वीनारायण शाहले पनि यो सौभाग्य पाएनन्।

मेरो तर्क के भने, जुन आलु नेवार सभ्यताको विकासक्रम सकिएपछि यहाँ छिर्यो, त्यो नेवार खाना कसरी भयो?

आलुकै थोरै चर्चा गरौं। सन् १७९३ मा नेपालमा पहिलो खेती भएको आलु त्यसपछि करिब डेढ सय वर्षजति खासै लोकप्रिय प्रयोगमा आएन। राष्ट्रिय स्तरमा आलुको प्रवर्द्धन कार्यक्रम १९६२ मा मात्र भएको देखिन्छ। सन् १९७० मा राष्ट्रिय आलु विकास कार्यक्रममार्फत् आलुको बीउ वितरण र लोकप्रियता तीव्र भएको देखिन्छ। तराईदेखि चार हजार मिटरसम्म सप्रने भएकाले होला, आलुले हाम्रो भोजनमा छिट्टै महत्वपूर्ण स्थान ओगट्यो। सन् १९७० भनेको मेरो जन्म साल हो, त्यसैले होला मलाई आलुसँग यस्तो लगाव र चासो भएको।

अब आलुबाट मांसाहारी परिकारको चर्चा गरौं।

हरेक सभ्यताको खानाको स्रोत मासु र त्यसका परिकारसँग जोडिन्छ। नेवार परिकार भन्नेबित्तिकै राँगाको मासु जोडिन्छ। भनाइ नै छ, नेवार खानामा राँगाको छाला बाहिर रहेको, आन्द्राभित्र रहेको र खुर, सिंगबाहेक सबैको परिकार बन्छ। हुन पनि हो, राँगाको मासुका परिकार सम्झन खोज्दा सूची तन्केको तन्क्यै हुन्छ।

संसारभरकै परिकार हेर्दा हामी मासु पकाउने केही सीमित विधि भेट्छौं- कि काँचै खाइन्छ कि सुकाएर। कि उसिनेर, कि पोलेर। कि तारेर, कि मसलामा पकाएर, कि झोल राखेर।

नेवार सभ्यता मात्र यस्तो हो, जहाँ यी सबै विधि बराबर प्रयोग हुन्छ। हामी काँचै मासुबाट कचिला बनाउँछौं, सुकाएर सुकुला खान्छौं, उसिनेर र तारेर भुटन खान्छौं। पोलेर छ्वेला र झोलसहित पकाएर द्याकुला खान्छौं। अझै हरेक अंगका अलग परिकारको फेहरिस्त लेख्ने हो भने सूची लामै हुन्छ- मेँ, न्हेँपू, न्यापं, खागो, जंला, स्य:, तिस्य, सपुम्हिचा। यस्ता परिकार अनेक छन्।

माथि उल्लिखित सबै परिकार नेवार घरमा दैनिक पाक्ने परिकार होइनन्। यी सबै खानेकुरा खान चाडपर्व वा कुनै विशेष मौका जुर्नुपर्छ। चाडपर्व वा विशेष मौका कुर्ने फुर्सद नभए पनि अचेल उपाय भने छ। कुनै गल्लीको भट्टीमा छिर्ने हो भने यी सबै परिकार हामी तयारी अवस्थामा फेला पार्छौं।

नेपालमा भएका सबै जात र सभ्यतामध्ये सबभन्दा विविध खानाको परिकार भएको सभ्यता नेवार नै हो भनेर धेरैले धेरै ठाउँमा भनेका छन्। त्यही भएर पनि होला, नेवारसँग सम्बधित एउटा भनाइ खुबै प्रचलित छ– ‘नेवार बिग्रियो भोजले …’

काठमाडौंमा मेरो प्रारम्भिक स्मरणका भोजहरू प्राय: नेवारकै घरमा हुन्थे। त्यो बेला आजको जस्तो पार्टी प्यालेस कहाँ हुन्थे र? भोजको तयारी क्रम सबै निकै रोचक हुन्थे। परिवार, छरछिमेक सबैका सहयोगी हातले ठूल्ठूला भोज सजिलै फत्ते हुन्थे।

सन् १९८० को कुरा हो। मेरो र मेरो दाइ रविको ब्रतवन्धमा धुमधामसँग भोज हुने भयो। केही दिनअघिदेखि पाटनका हलवाई परिवार आएर मिठाइ बनाउन थाले। एउटा राँगो, केही खसी र केही दर्जन कुखुरा ल्याइए। यहाँ ‘राँगो’ भन्दा ‘पाडो’ भन्न उचित होला। त्यस बेलासम्म मासुको स्रोतका रूपमा ठूला छिप्पिएका राँगोभन्दा कलिला पाँडो ढाल्ने चलन थियो। अहिलेजस्तो भैंसी त कल्पना बाहिरको कुरा थियो।

भोजको निम्ति राँगा ढालेको। तस्बिर स्रोत: किरणकृष्ण श्रेष्ठ

महिला समूह पूजाको तयारीमा लाग्थे। दिउँसो फुर्सदमा सालको पातबाट लप्त्या, दुना, बोता बनाउन थाल्थे। मेरा बाको रहर भोजमा ‘तखा: भ्वे:’ खुवाउने थियो। तखा: भन्नाले थलथले मासु। यो राँगाको मासुबाट बनाइने जटिलमध्येको एक परिकार हो।

थलथलेका लागि भोजभन्दा दुई दिनअघि नै पाँडो ढालियो। थलथले बनाउन दिनभरि लाग्थ्यो। जो पायो त्यहीले बनाउन नसक्ने। थलथले बनाउन जान्ने व्यक्तिलाई विशेष योग्यता भएको मानिन्थ्यो। पकाउने मान्छेलाई हामी कुक होइन, ‘भनी’ भन्थ्यौं। मैले आँखाअगाडि पाडो ढालेको र त्यति धेरै मासु एकै भाँडामा पकाएको पहिलोपटक देखेको त्यही बेला हो। करिब करिब एउटा पाँडोको मासु एउटै भाँडामा पकाइयो।

यता पाटनबाट ल्याइएका हलवाइ मिठाइ बनाउन व्यस्त, उता ‘भनी’ तखा: बनाउन। घरभरि खाली ठाउँमा आमा, काकी, दिदीहरू सालको पात गाँस्न व्यस्त। हामी केटाकेटीहरूका लागि भएभरको रमाइलो हरेक रूपमा घरमै आएको थियो।

त्यस बेला तखा: पकाएको धूमिल चित्र अझै सम्झनामा छ। ‘भनी दाइ’ ले दुइटा चुह्लोमा अलग-अलग भाँडा बसालेका थिए। एकातिर तामाको भाँडा (फोसी) र अर्कातिर त्योभन्दा ठूलो तामाकै भाँडा। ठूलो भाँडामा करिब-करिब पूरा पाडोको मासु सबै अटाएको थियो। दिनभरिमा ८-१० घन्टा उमालेपछि भनी दाइले मासुको झोलमा बूढीऔंला र चोरऔंला चोपे र औंला फाटे। औंलाको बीचमा र्‍यालजस्तो लस्सा तन्कियो। त्यसपछि उनी अलि सतर्क भए। नुनतेल मिले-नमिलेको चाखे। नुन बेसी भए तातो पानी थप्दै उमाल्ने र कम भए नुन मसला थप्ने काम भयो।

त्यत्तिकैमा विदेशमा बस्ने हाम्रो एक जना दाइ आए। उनले बढो नियालेर हेरे। सँगै एक जना अर्को दाइ थिए। विदेशबाट आएका दाइ सोझा। उनलाई सबैले सोधे, ‘तखा: बनाउँदा भनी दाइले भनेको, नुन बेसी भए तातो पानी थपेर फेरि उमाल्ने रे, अब भन्नुस् नुन कम भए के गर्ने?’

ती विदेशबाट आएका सोझा दाइले सोचेर जवाफ दिए, ‘अँ … नुन बेसी भए पानी थपेर उमाल्ने … कम भए … त्यसलाई उमालेर पानी सुकाउने…’

उनको यस्तो जवाफ सुनेर भनी दाइ मज्जाले हाँसे। उनले भने, ‘क्या काजी, नुन पुगेन भने नुन थप्ने नि।’

ती विदेशबाट आएका दाइले स्वीकारे, ‘हो त नि, नुन कम भए नुन थप्ने।’

हाँसोको फोहरा छुट्यो। भनी दाइले जिस्क्याउँदै भने, ‘विदेशबाट काजीले के-के न सिकेर आयो भनेको त, नुन कम भयो भने उमालेर पानी सुकाउने विद्या सिकेर आएछ।’

यत्तिकैमा भनी दाइ त्यो ठूलो भाँडाबाट सानो भाँडामा झोल सारेर त्यसमा भुटेको सिद्रा अनि खुर्सानी र मसला थपेर पकाउन थाले। यो ‘तखा:’ अर्थात्, थलथलेको सहयोगी परिकार ‘संयाखुन्या’ बनाउने तयारी थियो। उता पकाउँदा पकाउँदै गलेको मासु र त्यसको बाक्लो झोललाई बाटामा खन्याउने काम सुरू भयो। सबै बाटा अलि ओसिलो कोठामा लगेर राखियो।

माघ महिना थियो। भनी दाइ चुह्लोबाट बाहिर आउनेबित्तिकै काम्दै आफ्नो दोलाइ ओढे। ‘आगोमा बसुन्जेल गर्मी, बाहिर आउनेबित्तिकै रगत नै जम्लाजस्तो,’ उनी यसै भन्दै आफ्नो घर डल्लुतिर लागे।

भोलिपल्ट बिहानै ‘भनी दाइ’ आइसकेका थिए। हिजो बाटामा राखेको मासु जम्यो कि जमेन भनेर उनी हेर्न आएका रहेछन्। मज्जाले जमेको देखेपछि उनी आफ्नो काम सफल भएकोमा दंग थिए। भन्दै थिए, ‘तखा: बनाउँदा रातभरमा जमेन भने बर्बाद। फेरि सबै मासु पकाउनुपर्छ, स्वाद बिग्रन्छ। यसपालिको तखा:, संयाखुन्या दुवै मज्जाले जम्यो, पकाएको मजा आयो।’

उनी मासु जमेको प्रमाणस्वरूप बाटा पल्टाएर देखाउँदै थिए।

भोजको निम्ति तखा: पकाउँदै। तस्बिर स्रोत: किरणकृष्ण श्रेष्ठ

त्यही तखा:सहितको हाम्रो ब्रतबन्धको भोजमा करिब हजार जना निम्तालु थिए। खान पकाउने भनी दाइ र उनका सहयोगीबाहेक सबै जनशक्ति आफन्तहरू नै थिए। चिउरादेखि सबै परिकार थप्दै अन्तिममा वाउँ र पाउँ, अर्थात् साग र अमिलोसम्म अघाउने गरेर थपी-थपी खुवाउने जिम्मा सबै आफन्तले नै लिएका थिए।

भोज खाने लप्त्या, दुना, बोता सबै साल पातको थियो। झोल तरकारी राख्ने र रक्सी खाने सलिंचा सबै माटाको। पानी खाने सिधै करुवाबाट। माझ्नुपर्ने भाँडो खासै केही छैन। त्यसैले जुठो माझ्ने मान्छे पनि चाहिएन।

त्यत्रो भोज सहज रूप सम्पन्न भयो। अहिलेका भोजहरू सम्झन्छु, त्यो बेलाको हार्दिकता, घर-घरमा आयोजना हुने परिवार र इस्टमित्र सबैको सहयोगबाट हुने भोज अचेल दुर्लभ भइसक्यो। अचेल पार्टी प्यालेसमा खुवाउने भोज हार्दिकता र मायालु स्वादविहिन छ।

नेवार भोज भन्नेबित्तिकै एउटा शब्द जोडिन्थ्यो- गाट गाट… अर्थात् पुग्यो पुग्यो। पहिलेका भोजमा परिवारका इस्टहरूले मनले खाना थप्थे। कर गर्थे। पुग्यो पुग्यो भन्दा-भन्दै थप्थे। अचेल पार्टी प्यालेसका भोजमा परिकार हुन्छन्, हाकुपटासीमा सजिएर खाना थप्नेहरू हुन्छन्, तर त्यो माया हुन्न। त्यो आत्मीय हुन्न।

अचेल त चिउरासहितको नेवार भोज पाए नै धन्न। भोजजति सबै इन्डियन, चाइनिज, कन्टिनेन्टल परिकार मिश्रित खिचडी भैसक्यो। नखाउँ पेट खाली भएर ग्यास्ट्रिक हुने, टन्न खाउँ चिल्लो पिरोले ग्यास्ट्रिक हुने। भोज गए पनि सुख छैन, नगए पनि। भोज खाए पनि सुख छैन, नखाए पनि।

अचेल फेरि फाट्टफुट्ट नेवार भोज खुवाउने चलन बढेको छ। त्यो पनि परिवर्तित ढाँचामा। कुर्सीमा बसेर, खन्डेथालमा नेवार भोज।

तपाईं एउटा कल्पना गर्नुस्- भुइँमा पलेँटी कसेर सालको पातमा स्पेगेटी ससमा मोलेर हातले खाँदै हुनुहुन्छ। ग्रिल चिकेन वा स्टेकलाई बोताबाट टिपेर मज्जाले लुस्दै हुनुहुन्छ।

असजिलो भयो कि भएन? हो, अचेलको नेवार भोज यस्तै छ। टेबल-कुर्सीमा बेसर, प्लेटमा राखेर, काँटा-चम्चाले खुवाएको, खाएको देख्दा मलाई त्यस्तै असजिलो महशुस हुन्छ।

यही असजिलोमा म अन्तिम मल्ल राजाले चाख्न नपाएको आलु सम्झिन्छु। नेवार खानाको अभिन्न अंग बनिसकेको तिल मिसाएर साँधेको आलुको अचार र आलु-तामाको अमिलो झोल सम्झिन्छु। अनि सोच्छु, सन् १७६८ मा रोकिएको नेवार सभ्यताको विकासक्रम कुन बेला आलु अतिक्रमणमा पर्यो र आलुकरण भयो?

खुवाइसँगै संस्कृतिको अर्को अभिन्न पाटो हो लवाइ। आलुमा टिकेको नेवार परिकारसँगै म हाम्रो संस्कृति सम्हालेका ती धिमे टोली, ती रथ तान्ने टोली, जात्रा बेला मन्दिर-मन्दिर कुर्ने गुठियारहरू म सम्झिन पुग्छु। अस्ति मच्छिन्द्रनाथको जात्रा र येँया पुन्हीमा उनीहरूले लगाएका ती रंगीबिरंगी टिसर्ट, जसमा अनेक संघ-संस्थाले आफ्नो विज्ञापन गरेका थिए।

यी सब सम्झेर म गम्छु- हाम्रो आलुयुक्त खुवाइ र टिसर्टयुक्त लवाइले धानेको नेवार सभ्यताको बचेको अवशेष!

@KiranKrShrestha

(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।) सेतोपाटी मार्फत साभार

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *