28 March 2020|   शनिबार, चैत्र १५, २०७६

सत्ताविरोधी माहोलका बाबजूद भाजपाले जित्नुको ६ कारण

Online Karnali
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १०, २०७६       |  

सत्ताविरोधी माहोलका बाबजूद भाजपाले जित्नुको ६ कारण

नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा सत्तारुढ दल भाजपा प्रचण्ड बहुमतको दिशातर्फ उन्मुख रहेको देखिएको छ । कुल ५४२ सीटको लागि भएको निर्वाचनमा भाजपा एक्लैले लगभग २८० हाराहारी सीट जित्ने प्रारम्भिक मतपरिणामहरूले देखाएको छ ।

भाजपा विजयउन्मुख रहँदा काँग्रेस आई र उनको गठबन्धनको स्थिती भने अत्यन्तै खराब देखिएको छ । मतगणनामा काँग्रेस अध्यक्ष राहुल गान्धीले अमेठीमा भाजपा उम्मेदवार स्मृति इरानीलाई पछ्याइरहेका छन् ।

हरियाणा, गुजरात, बिहार र उत्तर प्रदेशमा सत्तारुढ गठबन्धन एनडीएले ‘क्लीन स्वीप’ गर्ने पक्कापक्की जस्तै देखिएको छ । सबैभन्दा आश्चर्यजक मतपरिणाम बिहार र उत्तर प्रदेशबाट आइरहेको छ, जहाँ भाजपाको अघि काँग्रेसको महागठबन्धन फेल भएको छ ।

उत्तर प्रदेशमा जुन हिसाबले भाजपा अघि बढिरहेको छ, त्यसले समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीलाई मुश्किल खडा गरेको छ । कर्नाटकको २८ सीटमा भाजपा २३ सीटमा आफ्ना प्रतिद्वन्द्वीभन्दा अगाडी छन् । राजस्थानमा पनि भाजपाले नै अगुवाई गरिरहेका छन् ।

मतपरिणामहरू आउँदै गर्दा भारतमा पाँच वर्षदेखि चलिरहेको सत्ताविरोधी लहरका बाबजूद काँग्रेस र अन्य विपक्षी दलहरू भाजपासँग पराजित हुन पुग्नुका कारणहरूको खोजी समेत भइरहेको छ ।

१) राष्ट्रवादी रुझानः अपरेशन बालाकोट पश्चात भाजपाको पक्षमा राष्ट्रवादको लहर पैदा हुन पुग्यो । त्यतिबेला काँग्रेस उक्त घटनाको प्रमाण माग्नमै व्यस्त थियो । प्रधानमन्त्री मोदीले यस पटक निर्वाचनमा भाजपा र भारतीय सेनाको छविलाई एउटै बनाइदिए । यसकारण अपरेश बालाकोट पश्चात भाजपाको विरोध गर्नु भनेको भारतीय सेनाको विरोध गर्नुजस्तो देखिन पुग्यो । काँग्रेसका तर्फबाट राहुल गान्धीले भाजपानिर्मित यो अवधारणालाई तोड्न सकेनन् ।

२) असफल राफेल मुद्दाः विगत दुई वर्षदेखि काँग्रेस अध्यक्ष राहुल गान्धीले राफेल काण्डमा प्रधानमन्त्री मोदीले घोटाला गरेको आरोप लगाइरहे । हरेक मञ्चबाट उनले प्रधानमन्त्री मोदीलाई ‘चौकीदार नै चोर’को नारा लगाए । प्रधानमन्त्री मोदीले भने उनको आरोपको आक्रामक तरिकाले सामना गरे र ‘चौकीदार नै चोर’को सट्टा ‘म पनि चौकीदार’ नारालाई स्थापित गर्न सफल भए । मतपरिणाम आउँदै गर्दा राहुल गान्धीले प्रधानमन्त्री मोदीलाई लगाएको आरोप जनताले मन नपराएको देखियो ।

३) घोटालामुक्त सरकारः पाँच वर्षको कार्यकालमा मोदी सरकारका एक मन्त्रीमाथि पनि भ्रष्टाचार र घोटालाको दाग लागेन । राफेल मुद्दामा काँग्रेस अध्यक्ष राहुल गान्धीले आफुले दिएको बयानका लागि सर्वोच्च अदालतमा माफी माग्नुपर्‍यो । मतदातामा यसको असर पनि परेको देखिन्छ ।

४) महङ्गी बनेन मुद्दाः यसपालिको लोकसभाको चुनावको मुख्य विशेषता भनेको इन्धनको बढ्दो मूल्यका बाबजूद अन्य चिजमा महङ्गी बढेन । यसले भाजपाको विरोधमा चुनावी माहोललाई भड्किन नदिन धेरै नै सहयोग गर्‍यो ।

५) गठबन्धनमा असफलः युपिए गठबन्धनलाई मजबुत गर्ने सवालमा काँग्रेस आई पूर्णत असफल भयो । केरल र तमिलनाडुमा काँग्रेस गठबन्धनलाई कुनै फाइदा भएन । यद्यपि उत्तर प्रदेश र पश्चिम बंगालमा काँग्रेसले गठबन्धन गर्ने दल नै भेटेनन् ।

६) काँग्रेसको घोषणापत्रः अपरेश बालाकोट पश्चात जतिबेला राष्ट्रवादी लहर चलिरहेको थियो, त्यतिबेला काँग्रेसको घोषणापत्रमा भने जम्मू–काश्मीर मुद्दासँग जोडिएको अनुच्छेद ३७० मा छेडछाड गर्ने र सेनालाई दिएको विशेषाधिकार हटाउने उल्लेख गरिएको थियो । यसलाई प्रधानमन्त्री मोदीको सरकारले विशेष मुद्दा बनायो । (एजेन्सीको सहयोगमा)

Loading...

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *